पूर्वराजाबाट नांगो हस्तक्षेप भएको आरोप लगाउनु गलत हो : अध्यक्ष लिङ्देन

मङि्सर २०, २०७८


मंसिर २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप गलत रहेको बताएका छन् । निवर्तमान अध्यक्ष कमल थापाप्रति लक्षित गर्दै लिङ्देनले राप्रपाको आन्तरिक निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण कुरा भएको बताए ।

सोमबार पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै लिङ्देनले थापाको आरोपको खण्डन गरेका हुन् । लिङ्देनले पछिल्लो समय व्यस्तताका कारण आफूले सामाजिक सञ्जाल हेर्न नपाएको बताउँदै त्यसो हो भने एकदमै दुर्भाग्यपूर्ण कुरा हुने बताए । यस्ता कुराहरूले महाधिवेशन प्रतिनिधिहरू प्रति अविश्वास जन्माउने लिङ्देनको भनाइ छ । यस्ता कुराले उहाँहरू महाधिवेशन प्रतिनिधिले गरेको निर्णयको अपमान भएको छ’ लिङ्देनले भने ।

अध्यक्षमा पराजित भएसँगै कमल थापाले सामाजिक सञ्जालमार्फत राप्रपाको प्रतिस्पर्धामा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका थिए । पूर्वराजाको सचिवालयले पनि कुनै पार्टीको महाधिवेशनमा निर्मल निवासले दखल नराख्ने प्रतिक्रिया जनाएको थियो । पूर्वराजाको सचिवालयका एक सदस्य फणि पाठकले भनेका छन्, सरकारको चिन्ता र चासो समग्र देश र जनताप्रति छ, कुनै एक पार्टी र उसको नेतृत्वप्रति हैन ।