कांग्रेसमा यसरी बन्छ १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय कार्यसमिति

मङि्सर २२, २०७८


मंसिर २२, नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न गर्ने र त्यहाँकै हलमा बन्द सत्र गर्ने तयारी कांग्रेसले गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार २५ गते उम्मेदवारी दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका रहेको छ ।

मतदान भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा हुने जनाइएको छ । केन्द्रीय महाधिवेशनका लागि देशभरिबाट ४ हजार ७ सय प्रतिनिधि चुनिएका छन् । उनीहरूले २९ वटा मतपत्र प्रयोग गरी आगामी पाँच वर्ष कांग्रेसलाई हाँक्ने नयाँ नेतृत्व चयन गर्नेछन् । कांग्रेसमा १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । महाधिवेशनबाट भने कोषाध्यक्षबाहेक १३ पदाधिकारी र सभापितको सिफारिसमा केन्द्रीय समितिले मनोनीत गर्नेबाहेकका केन्द्रीय सदस्य चुनिनेछन् ।

पदाधिकारीमा एकजना सभापति, दुईजना उपसभापति, दुईजना महामन्त्री, आठजना सहमहामन्त्री र एकजना कोषाध्यक्ष हुनेछन् । कोषाध्यक्षबाहेक सबै पदका लागि प्रत्यक्ष निर्वाचन हुनेछ । कोषाध्यक्ष भने पछि मनोनीत गर्ने व्यवस्था छ । महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यमध्ये सभापतिद्वारा सिफारिस एकजनालाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था कांग्रेस विधानमा व्यवस्था गरिएको छ ।

कांग्रेसको संशोधित विधानअनुसार सहमहामन्त्रीहरू विभिन्न क्लस्टरबाट उम्मेद्वार बन्नेछन् । जसमा महिला, मधेसी, आदिवासी जनजाति, दलित, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र पर्दछन् । जुनसुकै क्लस्टरबाट उठे पनि सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूबाट उनीहरूले निर्वाचित हुनुपर्नेछ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष खुलाबाट ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट १ महिलासहित ३ जनाको दरले २१ जना महाधिवेशनमा निर्वाचित हुनेछन् ।

केन्द्रीय समितिमा विभिन्न क्लस्टरअनुसार महिलाबाट ९, दलितबाट ४ महिलासहित ९, आदिवासी जनजातिबाट ७ महिलासहित १५, खसआर्यबाट ६ महिलासहित १३, मधेसीबाट ४ महिलासहित ९, थारुबाट २ महिलासहित ४, मुस्लिमबाट एक महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरी ५४ जना सदस्य चयन गरिनेछ । अपांगता भएका वा अल्पसंख्यक समूहबाट पनि दुईजनालाई केन्द्रीय सदस्यमा निर्वाचित गरिनेछ ।

सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट थप ३३ जना मनोनीत गर्ने व्यवस्था विधानले गरेको छ । निर्वाचित भएर आउन नसकेका विभिन्न क्लस्टरका महिला, समावेशी सिद्धान्त र अपांगता वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी सभापतिले मनोनयन गर्नुपर्ने विधानमा उल्लेख छ ।