राप्रपा बैठक सुरू

मङि्सर २२, २०७८


मंसिर २२, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको निर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरू भएको छ । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचित कार्यसमितिको पहिलो बैठक बोलाएका हुन् । बैठकमा राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी सहभागी छन् ।

अर्का निवर्तमान अध्यक्ष कमल थापा भने बैठकमा सहभागी भएका छैनन् । उहाँलाई मैले सोधेको थिएँ, बैठकमा बोलाइएको जानकारी छैन भन्नुभयो, उनीनिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने । पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले आफूलाई हराएको आरोप लगाइरहेका थापा बैठकमा नगएको कारणबारे स्पष्ट कारण खुलेको छैन ।

बैठकमा थापा पक्षले पार्टीको आन्तरिक राजनीतिमा निर्मल निवासले हस्तक्षेप गरेकोबारे कुरा उठाउने भएका छन् । पूर्वअध्यक्षहरू पदेन केन्द्रीय सदस्य हुन्छन् । पूर्वअध्यक्षत्रय तीनै जनालाई बैठकमा बोलाइएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए । तीनै जना निवर्तमान अध्यक्षहरूलाई बैठकबारे जानकारी गराउँदै बोलाइएको थियो, श्रेष्ठले भने । बैठकमा अध्यक्ष लिङ्देनले निर्वाचित कार्यसमितिको एजेन्डा राख्ने बताइएको छ ।