फागुन १३ मा आउला ‘म यस्तो गीत गाउँछु २’

माघ २५, २०७८


कोरोना महामारी नफैलिएको हुन्थ्यो भने २०७६ सालको फागुन ३० गते नै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भइसकेको हुने थियो । तर, रिलिजको मुखमा संक्रमण फैलिएपछि चलचित्र रिलिज हुन पाएन । दोस्रो चरणको बन्दाबन्दीपछि निर्देशक सुदर्शन थापाले माघ १९ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरे । तर, यसपटक पनि कोरोनाले चलचित्रको रिलिज विथोल्यो ।

चलचित्र रिलिजको १५ दिन पनि बाँकी नहुँदा कोरोना संक्रमण बढेको भन्दै सरकारले हलहरु बन्द गर्ने निर्णय गर्‍यो । सीसीएसीसीले सरकारलाई फागुन १ गतेलाई हलहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सञ्चालनको अनुमति दिन सिफारिस गरेको छ । यसै हप्ता मन्त्रिपरिषद्को बैठकले सीसीएमसीसीको सिफारिसको आधारमा सिनेमा हल खोल्न अनुमति दिने सम्भावना प्रवल छ ।

फागुन १ गतेबाट हल खुल्ने सम्भावना बढेपछि फागुन महिनामै ‘म यस्तो गीत गाउँछु २’ लाई रिलिज गर्न निर्मातादेखि वितरकसम्म दौडधुप गरिरहेका छन् । वितरक करण श्रेष्ठले चलचित्रलाई फागुन १३ गते प्रदर्शन गर्नका लागि प्रयास भइरहेको बताए । अहिले चलचित्रको टिम यही मितिमा आउन लागेको चलचित्र ‘लप्पन छप्पन २’ का निर्मातालाई मनाउनका लागि छलफल गरिरहेको छ ।

फागुन १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ गते रिलिज गर्न निर्माताले प्रयास गरेका हुन् । तर, आउँदो बैशाख १ गतेसम्म एकै मितिमा दुई नेपाली चलचित्र भिड्न नपाउने नेपाल चलचित्र संघको निर्णयका कारण ‘लप्पन छप्पन २’ ले छाडे मात्र ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा प्रदर्शनमा आउन सक्नेछ ।

वितरक श्रेष्ठ भन्छन् ‘हाम्रो कारणले चलचित्रको पटक(पटक प्रदर्शन सरेको होइन । हल बन्द नभएको भए माघ १९ मै चलचित्र लाग्थ्यो । त्यसैले अब हल खुलेपछि म यस्तो गीत गाउँछु २’ बाट चलचित्र रिलिजको सुरुवात गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । मंगलवार ‘लप्पन छप्पन २’ को टिमसँग नेपाल चलचित्र संघमा छलफल छ । सहमति जुट्यो भने फागुन १३ गते चलचित्र लगाउन हामी तयार छौं ।

सुदर्शन थापा निर्देशित तथा निर्मित चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले मिलेर चलचित्रको कथा लेखेका हुन् । सफल चलचित्रको सिरिज भएकाले ‘म यस्तो गीत गाउँछु २’ ले कोरोनाअघिकै पुरानो माहोल फर्काउन सफल हुने धेरैको अपेक्षा छ ।