बन्द भयो अर्जुन र जोनको ‘अय्यप्पनम कोशियुम’

फागुन २७, २०७८


मलयालमको हिट फिल्म ‘अय्यप्पनम कोशियुम’को हिन्दी रिमेकका विषयमा केही समयदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा थियो । फिल्मका लागि कलाकार फाइनल भइसकेको र चाँडै सुटिङमा जाने तयारी रहेको जानकारी निर्माण पक्षले मिडियामाझ दिइसकेका थिए । तर अब यो तयारी केवल तयारीमा मात्र सीमित भएको छ ।

समाचारअनुसार अर्जुन कपूर र जोन अब्राहमको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको हालका लागि निर्माणको काम बन्द गरिएको छ । फिल्मका निर्देशक जगन शक्तिले यो बन्द गर्नका लागि कैयौं कारण दिएका छन् । उनले अभिनेता जोन हाल शाहरुख खानको फिल्म ‘पठान’मा व्यस्त हुनु र अर्जुन पनि कैयौं काममा व्यस्त भएकाले उनीहरुले समय दिन नसक्नुलाई प्रमुख कारण मानेका छन् ।

हालैमात्र हरेक स्थानमा छाएको साउथ सुपरस्टार पवन कल्याणको फिल्म ‘भीमला नायक’ सन् २०२० को मलयालम हिट फिल्म ‘अय्यप्पन कोशियुम’को तेलुगु भर्सन हो । मलयालम भर्सनमा पृथ्वीराज र बीजू मेनन प्रमुख भूमिकामा छन् ।