शुक्रबारबाट एक नेपाली सहित तीन फिल्म प्रदर्शनमा

फागुन २७, २०७८


शुक्रबारबाट एक नेपाली सहित तीन फिल्म प्रदर्शनमा आएका छन् । विल्सनविक्रम राई र गौरव पहारीको मुख्य भूमिका रहेको ‘आकाशे खेती’ साउथ अभिनेता प्रभास र पूजा हेग्डे अभिनित ‘राधे श्याम’ र अर्का साउथ अभिनेता सुरियाको ‘एथाक्कुम थुनिन्धावन’ नेपालमा रिलिज भएका हुन् । उदय सुब्बा निर्देशित ‘आकाशे खेती’ ले नेपाल हुँदै तिब्बतबाट हुने शरणार्थीको गैरकानुनी धन्दाको कथा भन्छ ।

फिल्ममा बुद्धि तामाङ र नीता ढुंगानाको समेत मुख्य भूमिका छ । चाँडै धनी बन्ने सपनाले तीन मुख्य पात्रले तिब्बतबाट कसरी नेपाल हुँदै भारततर्फ शरणार्थीको ओसारपोसार गर्छन् भन्ने कथावस्तु यसमा छ । कमेडी, रोमान्स र एड्भेन्चर फिल्ममा समावेश छ । राधाकृष्ण कुमार निर्देशित फिल्म ‘राधे श्याम’ मा प्रभास र पूजा हेग्डेको मुख्य भूमिका छ । रोमान्टिक ड्रामा जनरामा बनेको यो फिल्मले सन् १९७० को युरोपेली सेटिङमा वर्णित प्रेमकथालाई चित्रण गर्छ ।

शुक्रबारै दक्षिण भारतीय फिल्म ‘एथाक्कुम थुनिन्धावन’ पनि नेपाली बक्स अफिसमा रिलिज भएको छ । पाण्डिराज निर्देशित यो फिल्ममा सुरिया प्रियंका अरुल मोहन र विनय रायको मुख्य भूमिका छ । ग्याङस्टरबाट महिलालाई जोगाउन मुख्य पात्रले गर्ने संघर्ष फिल्मको कथावस्तु हो । गत साता नै प्रदर्शनमा आएका ‘म यस्तो गीत गाउँछु २’ ‘द ब्याटम्यान’ र गंगुबाई कठियावाडी’ पनि अहिले प्रदर्शनरत छन् ।