प्रकाश सपुतको गीतमा धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन : प्रचण्ड

फागुन ३०, २०७८


फागुन ३०, प्रकाश सपुतको ‘पीर’ गीतबारे माओवादी केन्द्रक कार्यकर्ताहरुले चर्को विरोध गरेपनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने विरोध गर्न आवश्यक नरहेको बताएका छन् । धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गीतको विषयमा धेरै आवेगमा आउन नपर्ने बताएका हुन् । उनले मानिसहरु आफ्नो अनुभव, अनुभूति अनुसार गीत कविता बनाउने हुँदा त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताएका हुन् । उनले कार्यव्यस्तताको कारण गीत भने हेर्न नपाएको बताएका छन् ।

इतिहाससँग जोडेर बनाइएका सिर्जनामाथि डिबेट भने हुनसक्ने उनले बताए । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ, उनले भने । उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताए । एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु छन्, प्रचण्डले भने ।