कांग्रेसले स्थानीय निर्वाचनका उम्मेदवार चैतभित्रै टुंगो लगाउनेछ : प्रवक्ता महत

चैत ०६, २०७८


चैत ६, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यही चैत भित्रै स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाइने बताएका छन् । कांग्रेस विधानले उम्मेदवार टुंगो लगाउन केन्द्रदेखि पालिकासम्मै संसदीय समितिको व्यवस्था गरेकाले सो समितिले नै उम्मेदवार टुंगो लगाउने उनको भनाइ थियो ।

प्रेस युनियन सल्यानले आज आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, अन्तिम दिनसम्म पनि को उठ्ने भनेर टुंगो नलाग्ने स्थिति यसपटक रहन्न । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । उनका अनुसार उम्मेदवार छनोटका सन्दर्भमा तल्लो तहमा नटुंगिएको विवाद भने केन्द्रले हेर्नेछ। जुन तहको उम्मेद्वारी हो, त्यही तहमा सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ, उनले भने । उनले सर्वसम्मत रूपमा राम्रा मान्छेलाई उम्मेदवार बनाउन आग्रह गरे ।

कांग्रेसले थालेको ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसँग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे । पेवक्ता महतले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य पार्टीको भएकाले जो उठाउँदा जितिन्छ, उसैलाई प्राथमिकता दिन सुझाए ।