स्थानीय तहको सेवा छिटोछरितो, मितव्ययी र स्तरिय हुनुपर्नेमा जोड

चैत ०९, २०७८


सल्यान, ९ चैत ।

सल्यानको कपुरकोटमा स्थानीय तहको सेवा तथा श्रोत नक्सांकन सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । बुधबार आयोजित कार्यक्रममा नागरिक, स्थानीय तहका कर्मचारी र सरोकारवालाका विचमा स्थानीय तहले प्रदान गर्ने सेवाका बारेमा छलफल भएको हो । सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत दलित विकास समाज सल्यानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधीहरुले आआफ्नो शाखाबाट प्रदान गरिने सेवाको बारे अवगत गराएका थिए । कृषि, शिक्षा, पशु, स्वास्थ्य, महिला बालवालिका तथा जेष्ट नागरिक, खानेपानी, उद्यम विकास लगाएतका शाखाबाट प्रदान हुने हरेक सेवाका बारेमा नागरिकहरुलाई थाहा हुनुपर्ने विषयमा छलफल भएको थियो । यस्तै नागरिकहरुले सहज, सरल रुपमा सेवा प्राप्त गरेका छन् की छैनन् भनेर मापन गर्नुपर्ने, प्राप्त सुझाव तथा गुनासोलाई सम्बोधन गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले नीति निर्माण गर्ने जनप्रतिनिधी र कर्मचारीले आफ्नो जिम्मेवारी बहन गरेमा नागरिकलाई व्यवस्थीत सेवा दिन सकिनेमा जोड दिइन् । उनले छिटोछरितो, मितव्ययी र स्तरिय सेवाका लागि स्थानीय सरकारलाई बौद्धिक र नागरिक स्तरबाट पनि रचनात्मक सुझाव तथा खबरदारी हुनुपर्ने बताइन् ।

सुशासनमा नागरिक सहभागिता कार्यक्रमका जिल्ला संयोजक गुमानसिंह नेपालीले अभिमुखिकरण गरेका थिए । कार्यक्रममा सामुदायीक समूहका ११ जना, युवा मञ्चका दुई जना, विषयगत शाखा कार्यालयका ८ जना र सरोकारवालाहरु ६ जना गरेर २७ जनाको सहभागिता रहेको सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले जनाएका छन् ।