बक्स अफिसले दियो पल र पूजालाई उत्कृष्ट अवार्ड

चैत २९, २०७८


अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले उत्कृष्ट बक्स अफिस अवार्ड हात पारेका छन् । बक्स अफिस फिल्म क्लब नेपाल र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त रुपमा सोमबार चलचित्र बिकास बोर्डमा आयोजना गरेको बक्स अफिस वर्ष समीक्षा कार्यक्रममा शाह र शर्मालाई यो अवार्ड प्रदान गरिएको हो ।

वर्षभरि रिलिज भएको फिल्महरु मध्येमा ‘म यस्तो गीत गाउँछु २’ ले बक्स अफिसमा अन्यभन्दा बढी ब्यवसाय गरेको हिसावले दुबैलाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष आरके सुवेदीले बताए । कार्यक्रममा निर्देशक सुर्दशन थापालाई समेत अवार्ड दिइएको थियो ।

राम्रो निर्माण भएको भनेर फिल्म ‘कठपुतली’लाई र सन्देश मुलक फिल्म निर्माण भएको भनेर ‘चुरीफुरी’ लाई समेत अवार्ड दिइयो । कार्यक्रममा राम्रो फिल्म वितरण गर्नेले समेत अवार्ड पाएका थिए । यो वर्ष जम्मा २१ फिल्म प्रदर्शनमा आएका थिए ।

सोही अवसरमा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गायिका देविका बन्दना र गीतकार कृष्णहरि बराललाई ‘बक्स अफिस रजन सम्मान २०२२’ दिइएको थियो । दाहाललाई चलचित्र अनि बन्दना र बराललाई गीत संगीतको क्षेत्रमा २५ वर्ष पुरा गरेको भन्दै यो सम्मान दिइएको थियो । सोही अवसरमा पत्रकार श्याम स्मृत, रामहरि सिलवाल र रामजी बगालेले पत्रकारिता सम्मान प्राप्त गरे ।

अभिनेता पल शाह हाल नाबालिका बलात्कार आरोपमा कारागारमा रहेका कारण अवार्डमा पूजा मात्र पुगेकी थिइन् ।