गीतकार खेम प्रसाईंको ‘शुभकामना’ गीत सार्वजनिक

चैत ३०, २०७८


लामो समयदेखि गीत तथा साहित्य सिर्जनामा सक्रिय खेम प्रसाईंको नयाँ म्युजिक भिडियो शुभकामना सार्वजनिक भएको छ । नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा गीतकार प्रसाईंले समग्र क्षेत्रलाई समेटेर तयार पारिएको म्युजिक भिडियो शुभकामना सार्वजनिक गरेका हुन् । उनको म्युजिक भिडियोमा राजनीति, प्रशासन, बालबालिका, युवा लगायत समग्र विषय र पेसालाई सम्बोधन गरिएको पाइन्छ ।

गायक दीपक लिम्बुको स्वरमा रहेको उक्त गीतमा गायिका बेनिसा पौडेलले पनि स्वर भरेकी छन् । गीतकार खेम प्रसाईंको शब्द सिर्जना रहेको उक्त गीतमा महेश खड्काले संगीत भरेका हुन् । महेश खड्का कम्पोजर युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा सर्जक प्रसाईं आफैंले पनि अभिनय गरेका छन् । प्रसाईंको उक्त म्युजिक भिडियो मिनाक्षी कोइरालाले निर्देशन गरेकी हुन् । यस्तै सिनेमाटोग्राफी अर्जुन तिवारीले गरेका हुन् । जसमा प्रशान्त मगरको कोरियोग्राफी थियो।

म्युजिक भिडियोमा गीतकार प्रसाईंसहित संगीतकार महेश खड्का, रुक्सना लिम्बूलगायत कलाकारको अभिनय छ । शिक्षण पेसामा समेत रहेका गीतकार प्रसाईं लामो समयदेखि सिर्जनामा पनि सक्रिय रहँदै आएका छन् । यसबाहेक उनले अन्य थुप्रै गीत तथा साहित्य सिर्जना गरिसकेका छन् । हालै नयाँ वर्षको संघारमा उनले ल्याएको शुभकामना म्युजिक भिडियो नेपाली गीत संगीतमा पृथक सिर्जना मानिन्छ । यसअघि यही ‘थिम’ मा गायिका तारादेवीको शुभकामना गीत लोकप्रिय रहे पनि त्यसपछि शुभकामना गीत गाउने प्रचलन खासै देखिँदैन ।

गीतकार प्रसाईं यस्तो थिममा धेरै जसो गीत बजारमा नआएको बताउँछन् । प्रसाईंले भने आफ्नो शुभकामना गीत समाजका सबै क्षेत्र र वर्गलाई समेट्ने गरी तयार पारेका हुन् । उनको गीतले सेना, प्रहरी साथै राजनीतिज्ञ, समाजसेवी लगायत युवाहरूलाई पनि एकमुस्ट सम्बोधन गरेको छ ।