गन्दर्वहरूकाे आयस्तर बढाउने कार्यक्रम ल्याउने गठबन्धनका उम्मेदवारकाे प्रतिबद्धता

कार्तिक १५, २०७९


घाेराही, १५ कार्तिक । गठबन्धन सम्बद्घ उम्मेदवारहरूले पछाडि पारिएका गन्दर्वहरूकाे आयस्तर बढाउने कार्यक्रम ल्याउने प्रतबिद्घता व्यक्त गरेका छन् । उनीहरूले गन्दर्वहरूकाे जिविका सुधारका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्घता व्यक्त गरेका हुन् । घाेराही उपमहानगरपालिका वडा नं ११ स्थित नयाँ बस्तीमा पुगेर उम्मेदवारहरूले गन्दर्वहरूकाे पहिचान र जीवन सुधारका लागि काम गर्ने बताए । प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले आफूहरूकाे संघर्षका कारण नै नेपालमा दलित, जनजाति, उत्पीडित वर्ग, समुदायले अधिकार प्राप्त गरेकाे बतउनुभयाे ।

हामीले संघर्ष गरेर अधिकार ल्यायाैं, अब जनताकाे जिवनस्तर सुधार गर्न आवश्यक छ, उहाँले भन्नुभयाे, जनताले प्राप्त गरेकाे अधिकार रक्षा गर्दै मुलुककाे समृद्धि हासिल गर्न गठबन्धन निर्माण भएकाे हाे । प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्डविक्रम न्याैपाने “गुन्टु” ले लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री भएर पनि शंकर पाेख्रेलले दाङकाे विकासमा कुनै काम गर्न नसकेकाे आराेप लगाउनुभयाे । उहाँले अब युवा र केही गर्छु भन्ने भावना भएका उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गर्नुभयाे । स्थानीय विमला गन्धर्वले आफूहरूलाई नमुना बस्तीको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता ओैंल्याउनुभयाे । उहाँले पुल निर्माण नहुँदा आफूहरूले दुःख पाएकाे जानकारी दिनुभयाे ।