मतदाता शिक्षा कार्यक्रम सुरु

कार्तिक १८, २०७९


काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आज शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले प्रत्येक वडामा रहका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ ।

‘देशका ६ हजार ७४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ, स्थानीय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम १८ कात्तिकदेखि १ मंसिरसम्म आयोजना हुनेछ,’ आयोगका सहायक प्रवक्ता अर्यालले राजधानीसँग भने ।

उनका अनुसार केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ । मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक ब्रोसर वितरण गरिने जनाइएको छ ।

यसैगरी, प्रत्येक मतदाता शिक्षा कार्यकर्ताले एक–एक फ्लिप चार्टर (नछुटाई बताउनुपर्ने विषयवस्तु समेटिएको सामग्री, मतदानको महत्व, कसरी र किन गर्ने, आचारसंहिताको महत्ववलगायत आधारभूत कुराहरू समेटिएको सामग्री) दिएर मतदातालाई भन्नैपर्ने कुरा जानकारी गराउने आयोगले जनाएको छ ।

मतदाता शिक्षा कार्यक्रमका लागि त्यसरी खटिने स्वास्थ्य स्वयंसेविकालाई स्थानीय तहले नै पारिश्रमिक उपलब्ध गराउनेछ भने तालिमसमेत स्थानीय तहमार्फत नै प्रदान गरिएको छ ।

आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एक जना अधिकृतलाई तालिम दिएर निर्वाचन सम्पर्क व्यक्तिसमेत तोकिसकेको छ । आयोगले मतदाता शिक्षाका लागि छपाइ भएका सामग्री जिल्लामा पठाइसकेको छ ।

मतदाता शिक्षा कार्यकर्ताले मतदाता शिक्षा बढी आवश्यक भएको अल्पसंख्यक, सीमान्तकृत समुदायलाई प्राथमिकता राख्ने छन् । यसबाहेक रेडियो, टेलिभिजन र छापा माध्यमबाट पनि मतदाता शिक्षालाई तीव्रता दिइने आयोगको भनाइ छ । यसका लागि सेलेब्रिटी र लोकप्रिय व्यक्तिबाट विज्ञापन बनाइने, सांगीतिक भक्स–पपहरू पनि आयोगले बनाइसकेको छ ।

मतदाता शिक्षाअन्तर्गत आयोगले सबै पालिकामा नमुना मतदानसमेत गराउनेछ । पालिकाको केन्द्रमा सबै वडाका मतदाता समेटेर नमुना मतदान गराउने आयोगको तयारी छ ।

सय मतदान केन्द्र अपांगमैत्री
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सयवटा मतदान केन्द्र अपांगमैत्री बनाउने निर्णय गरेको छ ।

ती मतदान केन्द्रमा सांकेतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई सांकेतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री, रंगीरंगी डोरी तथा पोल, ¥याम्प निर्माण, ह्विलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सी व्यवस्था गरिने आयोगले जनाएको छ ।

आयोगले कायम गरेको र मतदान गर्न योग्य मानेका मतदाताले मतदानस्थल र केन्द्रमा गएर मतदान गर्न सक्नेछन् ।