तटस्थ मत तीनतिर छरिँदा रवीन्द्र मिश्र दोस्रोपटक ‘अनलक्की’

मङि्सर ०६, २०७९     सम्पूर्ण कुरा


काठमाडौं । काठमाडौं–१ बाट रवीन्द्र मिश्रले लगातार दोस्रो चुनावमा साँघुरो हार व्यहोरेका छन् । पुरानै प्रतिस्पर्धीबाट फेरि झिनो अन्तरले पराजित हुनु मिश्रका लागि अर्को राजनीतिक चोट हो ।

कांग्रेसका प्रकाशमान सिंहले १२५ मतको अन्तरले मिश्रलाई पछि पारे । तर, यो जितमा उनले आफूलाई यस अर्थमा भाग्यशाली ठान्नुपर्छ कि यसपालिको चुनावी समीकरण नै उनका लागि अनुकूल बनिदियो । यदि कुनै दलप्रति आस्था नराख्ने काठमाडौं–१ ‘तटस्थ जनमत’ तीनतिर नबाँडिएको भए सिंह राम्रै मार्जिनले हार्न सक्थे भन्ने अहिलेको नतिजाबाट देखिन्छ ।

काठमाडौं १ मा मिश्रसँगै सुशासन पार्टीका रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको उम्मेदवारी परेको थियो । ‘राम्रा मान्छे’ हरू एकै क्षेत्रबाट भिडेर अमुक उम्मेदवारलाई सजिलो बनाइदिएको चर्चा पहिल्यैदेखि चल्दै आएको हो । अन्ततः त्यही सत्य भएको छ । पुकार र रमेशले पनि उल्लेख्य मत ल्याएका छन् । यदि उनीहरू प्रतिस्पर्धामा नभएको भए त्यो मत आफूलाई आउन सक्थ्यो भन्ने मिश्रको आँकलन छ ।

प्रकाशमान सिंहले ७ हजार १४३ मत ल्याएर चुनाव जिते भने मिश्रले ७ हजार १८ मत पाएर पराजित भए । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका बमले ४ हजार ११५ मत ल्याएका छन् भने एमालेका किरण पौडेलको ३ हजार ५ सय ३२ मत छ । सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत ल्याएका छन् ।

यदि मिश्र, बम र खरेलको मत एक ठाउँमा राखेर जोड्ने हो भने झण्डै १५ हजार हुन्छ । लोकतन्त्रमा सबैले चुनावमा प्रतिस्पर्धा गर्न पाउँछन् । त्यसैले फलानो नउठेको भए हुन्थ्यो भन्नु आफैँमा अलोकतान्त्रिक तर्क हुन सक्छ । तर, तीन जनाले आपसी सहमति गरेर कोही एकलाई समर्थन गरेको भए अवश्य नतिजा उल्टिन सक्थ्यो भन्ने देखिन्छ । परिवर्तनको एउटै नारा र उस्तै एजेन्डा बोकेकाहरू आपसमा मिल्न नसक्दा नयाँ अनुहारको खोजीमा रहेका मतदाताहरू भने निराश बनेका छन् ।

मिश्र अघिल्लो चुनावमा सात सयभन्दा बढी मतान्तरले हारेका थिए । त्यसबेला अहिलेकोजस्तो ‘तटस्थ मत’ बाँडिएको थिएन । अहिले तीन तिर भोट बाँडिदा पनि हारको अन्तर कम हुनु उनको लागि सान्त्वनाको विषय बन्न सक्छ । तर, विचार र पार्टी परिवर्तन गर्दै आफूलाई जनतामाझ परीक्षामा उतारेका मिश्रलाई यो हारले अवश्य निराश तुल्याउने छ ।