रवि लामिछानेले सार्वजनिक गरे सांसद निर्वाचित भएपछि गरेका कामका विवरण

मङि्सर १३, २०७९


मंसिर १३, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेले सांसद भएदेखिका कामका विवरण सार्वजनिक गरेका छन् । उनले भोट खसालेपछि जनताको काम सकिने र जनप्रतिनिधिको काम सुरू हुनेसमेत उल्लेख गरेका छन् । भोट खसाले पछि जनताको काम सकिन्छ र जनप्रतिनिधिकोको काम सुरू हुन्छ । हामीले बुझेको राजनीति यही नै हो, उनले भनेका छन् ।

सांसद भएपछि गरेका कामका विवरणबारे उनले ४ बुँदा सार्वजनिक गरेका छन् । जसमा बिजुली र रासायनिक मलका लागि पहल गरेका विवरण छन् । मेरो निर्वाचन क्षेत्र चितवन-२ को इच्छाकामना गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ का विद्युत नपुगेका स्थानमा यही महिनाभित्र क्रमश टेन्डर आह्वान गरेर विद्युत लाइन विस्तार हुने भएको छ । विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तत्काल विद्युत लाइन विस्तार गर्न छलफल भएको छ । अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ, उनले भनेका छन् । साथै उनले कालिका नगरपालिकाको विद्युत नपुगेका पहाडी भेगमा पनि तत्काल विद्युत विस्तार हुने बताएका छन् ।

चितवनका किसानले वर्षौंदेखि भोगेको रासायनिक मलको अभाव अन्त्यका लागि आज कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था, भण्डारण र वितरणको अवस्था निरीक्षण गरेको छु। दुवै भेटघाट निकै फलदायी बनेका छन्,’ उनको भनाइ छ। उनले समसामयिक राजनीतिबारे पनि नजिकबाट नियालीरहेको उल्लेख गरेका छन् । केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालीरहेका छौं । निर्वाचनको पूर्ण नतिजा आए पछि निर्णयमा पुग्छौं । हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौं, उनले भनेका छन् ।