कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, छुटे गोपालमान श्रेष्ठ !

मङि्सर २४, २०७९


मंसिर २४, नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ३ जना पुरुष को को पठाउने भन्ने विवाद थियो । संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाउनुपर्ने थियो । सूची बनाउँदा नै क्रम मिलाएकाले यसमा धेरै विवाद थिएन ।

पुरुषतर्फ भने सबै क्लस्टरको पहिलो नम्बर प्रभावशाली नेताहरु थिए । खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार थिए । यस्तै थारु पुरुषतर्फ योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै सहमहामन्त्री फरमुल्लाह मन्सुर थिए ।

तर बढीमा तीन जना मात्र पठाउन पाउने भएपछि नाम टुंगो लगाउन सहज थिएन । प्रत्यक्षतर्फ दलित समुदायबाट एक जना पनि उम्मेदवार नबनाएकाले सहमहामन्त्री जीवन परिवारलाई पठाउनुपर्ने डा. शेखर कोइराला समूहको लबिङ थियो । उनलाई लैजान बाँकी २ सिटमा सभापति देउवाले प्रकाशशरण महत र विमलेन्द्र निधि रोजेका छन् । यस सँगै गोपालमान श्रेष्ठ, योगेन्द्र चौधरी र फरमुल्लाह मन्सुर समानुपातिक सांसद बन्न सकेनन् ।

महिला समानुपातिकतर्फ कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ । आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम लिम्बू, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ ।

दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।