कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने

पुष ०१, २०७९



पुस १, नेपाली कांग्रेसले पुस ३ गतेपछि मात्रै संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरू गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाण पत्र दिने भएको छ । समानुपातिक सांसदले निर्वाचित भएको प्रमाण पत्र बुझेपछि मात्रै संसदीय दलको नेता चयनका बारेमा छलफल अघि बढाइने कांग्रेसले जनाएको छ । कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको छ ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले संसदीय दलको नेता चयनबारे अनौपचारिक कुराकानी भइरहे पनि औपचारिक छलफल भने पुस ३ गतेपछि मात्रै गरिने जानकारी दिए । संसदीय दलको नेता चयन सहमतिमा गर्ने कि चुनावबाट गर्ने टुंगिएको छैन । कांग्रेसमा २०७४ सालको चुनावपछि पनि संसदीय दलको नेता चयनमा चुनाव भएको थियो । यसपालि पनि धेरै सांसदले संसदीय दलको नेता हुने चाहना राखेकोले चुनाव हुन सक्ने देखिएको छ । सभापति शेरबहादुर देउवा पुनस् संसदीय दलको नेताका लागि उम्मेदवार हुने तयारीमा छन्। देउवा फेरि प्रधानमन्त्री बन्ने तयारीमा जुटेका छन् ।

नेता रामचन्द्र पौडेल पनि संसदीय दल नेता आफूलाई बनाएर प्रधानमन्त्रीसमेत बनाउनुपर्ने पक्षमा छन् । उनले केही दिनअघि प्रधानमन्त्री देउवालाई भेटेर यसबारे कुराकानी पनि गरेका थिए । कांग्रेस महामन्त्री गगन थापा पनि संसदीय दलको नेताका लागि उम्मेदवार हुने तयारीमा छन् । थापाले काठमाडौं ४ मा चुनाव लड्दादेखि नै आफू संसदीय दलको नेता उठ्ने र जितेमा प्रधानमन्त्री हुने बताएका थिए । मोरङबाट चुनाव जितेर आएका नेता शेखर कोइराला पनि संसदीय दलको नेता उठ्न सक्ने उनीनिकट सांसदहरू दाबी गर्छन् । तर कोइरालाले यसबारे अहिलेसम्म यसबारे धारणा सार्वजनिक गरिसकेका छैनन् ।

कांग्रेस विधानअनुसार संसदीय दलको नेता हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ । ५१ प्रतिशत मत नल्याए पुनस् चुनाव गर्ने व्यवस्था छ । कांग्रेसमा गत वर्ष भएको १४ औं महाधिवेशनलाई आधार मान्ने हो भने सभापति देउवानिकट धेरै जना यसपालि सांसद जितेर आएका छन् । तर जनताले परिवर्तन चाहेको भन्दै कांग्रेसमा संसदीय दलको नेतामा युवालाई ल्याउनुपर्छ भन्ने पनि छन्। महामन्त्री शर्माले अर्का महामन्त्री थापालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने घोषणा गरिसकेका छन् ।

निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतपरिणाम प्रतिवेदन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाइसकेको छ । पुस २ मा आयोगले सातै प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ । अब राष्ट्रपतिले केही दिनमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछिन् । यसबीचमा दलहरूले संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । सातै प्रदेश संसदीय दलका लागि पनि कांग्रेसमा निर्वाचन हुन सक्ने सम्भावना छ ।