पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले गगनलाई प्रस्ताव गरें : डा.शेखर कोइराला

पुष ०५, २०७९


पुस ५, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गर्ने बताएका छन् । होटेल बसेरामा बसेको आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने, पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा छु । महाधिवेशनमा यही मुद्दासहित प्रतिस्पर्धा गरेका थियौं । म गगन माननीयलाई संसदीय दलको उम्मेदवारको लागि प्रस्ताव गर्दछु ।

मंगलबार बिहान होटल एम्बास्डरमा बसेको थापा र कोइराला पक्षको बैठकमा कोइरालाले गगनलाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गर्ने सहमति जुटेको थियो । सो छलफल लगत्तै कोइराला र थापा पक्षका सांसदहरुको बैठक अहिले होटेल बसेरामा बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।