मन्त्री बन्दिनँ, पार्टी सुदृढीकरणमा लाग्छु : उपमहासचिव पुन

पुष १७, २०७९


पुस १७, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मन्त्री नबन्ने बताएका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सफल बनाउन लाग्ने र पार्टीको संगठन सुदृढ बनाउनमा भूमिका खेल्ने बताएका हुन् ।

एमालेसँग गठबन्धन गरेर सरकार निर्माणमा भूमिका खेलेका नेता पुनले मन्त्री नभएरै पनि काम गर्न सकिन्छ भन्ने आफूलाई लागेको बताएका छन् । आइतबार उनले भने, यसपटक सरकार बाहिरै बसेर प्रधानमन्त्रीलाई सहयोग गर्छु, पार्टी सुदृढीकरणको काम पनि गर्छु ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउँदा मन्त्रिपरिषद्मा मर्याक्रम नमिलेकोमा नेता पुन असन्तुष्ट रहेको बताइएको थियो । तर उनले भने त्यस्तो नभएको जिकिर गरका छन् । धेरैवटा दल मिलेर सरकार बनेको छ । फरक पार्टीबाट मन्त्री भएका व्यक्तिसँग मर्यादा क्रममा तल वा माथि पर्ने भइयो भनेर सरकारमा जानेरनजाने हुँदैन, उनको भनाइ छ ।

पुनले राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको पनि बताए । वर्तमान सरकार गठन भएपछि जनतामा आशा जागेको उनको दाबी छ ।