डीआईजी अशोक सिंहले दिए राजीनामा

फागुन १०, २०७९


फागुन १०, नेपाल प्रहरीका नायब महानिरीक्षक डीआईजी अशोक सिंहले राजीनामा दिएका छन् । जन्ममितिबारे प्रश्न उठेपछि उनले राजीनामा दिएका हुन् । बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सिंहले राजीनामापत्र बुझाएका छन् । उनी एक महिनापछि नेपाल प्रहरीको नयाँ प्रमुख बन्ने प्रतिस्पर्धामा थिए । तर, उनको जन्म मिति र शैक्षिक योग्यताको प्रमाण पत्रलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालसालै मात्र उजुरी परेको थियो ।

सिंहको फरक-फरक जन्ममिति भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको थियो । सिंहको नागरिकताका आधारमा जन्ममिति २०२४ साल जेठ २२ गते रहेको पाइएको छ । तर, उनको नेपाल प्रहरीमा रहेको सिटरोलमा जन्ममिति २०२५ पुस १६ गते रहेको छ । २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको विवरणसहितको नागरिकता जारी भएको थियो । नागरिकतामा जन्ममिति उल्लेख नभएको अवस्थामा जारी भएको महिना र गतेलाई जन्ममिति मानिने प्रहरी नियमावलीको व्यवस्था छ ।

सोही आधारमा सिंहको जन्ममिति २०२४ जेठ २२ गते कायम भएको थियो । तर, २०५० सालमा सिंहले प्रहरी निरीक्षकमा भर्ना हुन दिएको शैक्षिक प्रमाणपत्रमा २०२५ पुस १६ गते जन्ममिति रहेको पाइएको छ । प्रहरी नियमावलीले फरक-फरक प्रमाणपत्रमा रहेका जन्ममिति विवादबारे स्पष्ट बोलेको छ । कुनै प्रमाण पत्रमा उमेरमात्रै उल्लेख भएको तर अर्को प्रमाणपत्रमा पूरा जन्म मिति भएको अवस्थामा जन्म मितिको अन्तर एक वर्षभित्रको भएमा पूरा जन्म मिति उल्लेख भएको प्रमाणपत्रलाई आधिकारिक मानिने उल्लेख छ । तर, जन्म मितिको अन्तर एक वर्षभन्दा बढीको देखिएमा उमेर मात्र उल्लेख भएको प्रमाणपत्र अनुसार उमेर गणना हुने उल्लेख गरिएको छ ।

यो व्यवस्थाअनुसार सिंहका हकमा उमेरमात्र उल्लेख भएको प्रमाण पत्र लागू हुने अवस्था छ । त्यसअनुसार सिंह एसएसपीमै अवकाश पाउने अवस्थामा थिए । सिंह गत असारमा मात्र डीआईजीमा बढुवा भएका थिए । सिंहले प्रहरी निरीक्षकमा आवेदन दिँदा नागरिकताअनुसार उनको उमेर २६ वर्षभन्दा माथि देखिन्छ । जबकी २५ वर्ष उमेरसम्मकोले मात्र प्रहरी निरीक्षकमा आवेदन दिन सक्छ । अख्तियारमा परेको उजुरीबारे अनुसन्धान भइरहेको बुझिएको छ ।