प्रचण्ड-माधव भेटवार्ता, विभिन्न विकल्पमा छलफल गरिरहेका छौं ?

फागुन ११, २०७९


फागुन ११, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ । उक्त भेटवार्तामा माओवादीका तर्फबाट उपप्रधानमन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ र एकीकृक समाजवादीबाट घनश्याम भुसाल पनि सहभागी थिए ।

नेपालसँगको भेटपछि संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लाग्ने बताए । राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लागिहाल्छ नि, उनले भने। २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । चुनावअघिको गठबन्धन ब्युँतिन लागेको होरु भन्ने अर्को प्रश्नमा उनले भने- अहिले टुंगो लागेको छैन । यसअघि बुधबार साँझ बालुवाटारमा भएको वार्तामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो ।

उक्त सहमतिलाई औपचारिकता दिन आज विभिन्न दलले पार्टीभित्र र अन्तरपार्टी छलफल गरिरहेका छन् । प्रचण्डसँगको भेटपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरूसँग विभिन्न विकल्पहरू रहेकाले ती सबैमा छलफल भइरहेको बताए । तपाईं राष्ट्रपतिको उम्मेदवार बन्ने हो भन्ने प्रश्नमा उनले छलफल जारी रहेको जवाफ दिए । हामीसँग अहिले विभिन्न अप्सन छन्, तीमध्ये जुनले देशको हित गर्छ त्यही छान्ने हो । व्यक्ति को बन्छ भन्ने भन्दा पनि देशको हित कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।