दाङमा शिक्षकबाटै एसइई दिँदै गरेकी छात्रामाथि करणी

चैत २२, २०७९


चैत २२, दाङ शान्तिनगर गाउँपालिका-७ स्थित शिवशक्ति मा.वि.धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि शिक्षकले जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेख छ ।

प्रहरी निरीक्षक केसीले भनेविद्यालयमा सबै विद्यार्थी बसेर परीक्षाको तयारी गरिरहेका क्रममा शिक्षकले पीडित बालिकालाई इमर्जेन्सी काम छ भन्दै बाहिर बोलाएर भवनको भर्‍याङमुनि लगेर जबर्जस्ती करणी गरेको पीडितले बयान दिएकी छिन् ।पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्रावि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । उनी फरार रहेको प्रहरी निरीक्षक केसीले बताए ।

पीडितले मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको मंगलबार स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ । त्यसको रिपोर्ट आज आउने प्रहरी निरीक्षक केसीले बताए । धनौरी स्कुलको परीक्षा केन्द्र श्रीगाउँमा रहेको छ । पीडित बालिकाले परीक्षा भने नियमित दिइरहेकी छिन् ।