२०७९ मा नेपाली संगीत : फ्युजन शैलीको वर्चस्व, लयमा फर्कियो स्टेज

बैशाख ०१, २०८०     सम्पूर्ण कुरा


काठमाडौं । नेपाली संगीत क्षेत्रका लागि २०७९ साल लयमा फर्किएको वर्षको रुपमा रह्यो । कोरोना महामारीपछि स्टेज पूर्ण रुपमा लयमा फर्कियो भने रेकर्डिङ र म्युजिक भिडियो पनि उत्तिकै निर्माण भए । साथै यो वर्ष नयाँ नयाँ प्लेटफर्ममा नेपाली गीत-संगीतले उपस्थिति जनाउने मौका पनि पाए ।

दुई वर्षसम्म स्टेज कार्यक्रम ठप्प हुँदा सांगीतिक क्षेत्र स्टुडियोमा सीमित थियो । तर यो वर्ष देशको पूर्वदेखि पश्चिमसम्म आयोजना भएका मेला, महोत्सव तथा कन्सर्टहरुमा गायक-गायिकालाई भ्याइनभ्याइ भयो ।

यस वर्ष संगीतमा लोक फ्युजन भएका आधुनिक शैलीका गीतहरु निकै चले । पुस महिनाको जाडोमा गायक तथा संगीतकार तिलकसिंह पेलाले लिएर आएको ‘के लत बस्यो’ गजलले सांगीतिक क्षेत्रलाई ततायो । यो गीतले चलिरहेको शैलीलाई क्रमभंग गर्ने कोसिस गर्‍यो भने गजल पनि टिकटकमा चल्नेरहेछ भन्ने मानक स्थापित गर्‍यो ।

संगीतकार आलोकश्री यस वर्ष लोक फ्युजन भएका आधुनिक गीतहरु बढी चले पनि कालजयी गीत भने आउन नसकेको बताउँछन् । ‘हामी कसैले पनि यस वर्ष नोटेबल गीतहरु दिन सकेनौं । तिलकसिंह पेलाको ‘के लत बस्यो’लाई भने यस वर्षको कालजयी गीत भन्नुपर्छ,’ अनलाइनखबरसँग उनी भन्छन्, ‘लोक फ्युजन भएका आधुनिक शैलीका गीतहरु यस वर्ष हाबी भए ।’

गायक शिव परियार पनि उनको कुरासँग सहमत छन् । उनी भन्छन्, ‘यस वर्षको उत्तराद्र्धतिर लामो समयदेखि संगीतको साधनामा रहनुभएका तिलकसिंह पेलाले ‘के लत बस्यो’ गजल लिएर आउनुभयो । सामान्य ढंगका गीतहरु चलिरहेको बेला यो गीतलाई श्रोताले स्वागत गर्नुभयो । यो गीतलाई यस वर्षको सुन्दर गीत मान्नुपर्छ ।’

२०७९ सालमा सुगम संगीत, लोक तथा दोहोरी, पप, र्‍याप, फिल्मी सबै प्रकारका गीत सार्वजनिक भए । यद्यपि सबैभन्दा बढी रुचाइएको जनरामा लोक फ्युजन शैली रह्यो । उर्गेन दोङ र अनु चौधरीको ‘लजालु लजालु’, सन्तोष सुनारको ‘छमक छमक’, हिमाल सागर र अनु चौधरी स्वरमा रहेको ‘ए होर माया’, सुनिल गिरीको ‘जुम्ला’ सर्वाधिक रुचाइएका लोक फ्युजन शैलीका गीतमध्येमा परे ।

त्यस्तै फिल्म छक्कापञ्जा ४ को ‘दर्शन सलाम’ र ‘सिरुपाते जुँगामा’, फिल्म झिंगेदाउको ‘आगोबिना बिंडी जल्दैन’, टंक तिमिल्सिनाको स्वरमा रहेको ‘मेरी चम्पा’, शिव परियार र अस्मिता अधिकारीको ‘फूलैफूल दिन्छौ कि’ लगायत गीत पनि सर्वाधिक रुचाइएको सूचीमा परे ।

‘फिल्मदेखि मूलधारको संगीतसम्म नै लोकसँग सम्मिश्रण गरेर सिर्जना गरिएका आधुनिक शैलीका गीतलाई रुचाइएको पाइयो,’ संगीतकार आलोकश्री भन्छन् ।

तर गायक परियार भने श्रोता-दर्शकमाझ एउटा मात्रै जनरा हाबी भएको भन्ने कुरामा विश्वास गर्दैछन् । ‘म चाहिं कुनै जनरा हाबी भएको भन्ने मान्दिनँ । पूर्वदेखि पश्चिमसम्मका कन्सर्टमा पुग्दा रक ब्याण्ड, दोहोरी गायक-गायिका, पप गायक-गायिकाहरुसँग स्टेज सेयर गर्दा तिनै श्रोता हुनुहुन्छ, जो हरेक गीतमा उत्तिकै रमाइरहनुभएको हुन्छ,’ उनी भन्छन्, ‘यद्यपि डिजिटल माध्यममा एक प्रकारको शैली चर्चामा आयो होला ।’

यसैगरी लोकगीत अघिल्ला वर्षजस्तै यस वर्ष पनि सदावहार रुपमै रुचाइयो । लोक तथा दोहोरीगीततर्फ प्रकाश सपुत, प्रकाश दूतराज, पशुपति शर्मा, शान्तिश्री परियार, विष्णु माझी, विमल परियार, पूर्णकला बिसीलगायत गायक-गायिका चर्चामा रहे ।

प्रकाश सपुतले निशा सुनारसँग मिलेर गाएको ‘नभन विदेशी’ गीत युट्युबमा निकै रुचाइयो भने प्रकाश दूतराजले मेलिना राईसँग गाएको ‘जूनमाया’ तथा शान्तिश्री परियारसँग गाएको ‘मन भुल्छ’ निकै चर्चामा रहे । पशुपति शर्माका ‘फाटेको मन’ र ‘जन्तै जाम्ला’ पनि मन पराएका गीतमा परे ।