भारत भ्रमणका विषयबारे प्रधानमन्त्रीले संसदमा प्रष्ट पार्नुपर्छ : प्रदीप पौडेल

जेठ २१, २०८०


जेठ २१, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले भारत भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रष्टाउनुपर्ने बताएका छन्। प्रधानमन्त्रीले सुरूमै भारत भ्रमणबारे संसदमा प्रष्ट पारेको भए प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूबाट प्रश्न उठ्ने अवस्था नहुने पनि उनले बताए । प्रधानमन्त्रीको भारत भ्रमणको विषयबारे संसदमा जानकारी माग गर्दै नेकपा एमाले, रास्वपा र राप्रपालगायत दलहरूले आज प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका थिए ।

भारत भ्रमणबारे संसदमा जानकारी नगराएकोले अवरूद्ध भयो भन्ने अवस्था आउन प्रधानमन्त्रीले दिन हुँदैनथ्यो, पत्रकारहरूसँग आज संसद भवन परिसरमा कुराकानी गर्दै पौडेलले भने, संसद बैठक सुरू हुनेबित्तिकै प्रधानमन्त्रीले भारत भ्रमणमा भएका विषयबारे प्रष्टाएको भए त्यो कुरा मुद्दा बन्दैनथ्यो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रिया नपुर्‍याई नागरिकता विधेयक प्रमाणीकरण गरेको उनको भनाइ छ । सरकारले नागरिकता विधेयक संसदमा दर्ता गराउनुपर्थ्यो, संसदमा छलफल हुनुपर्छ, उनले भने, सबै सांसदले धारणा राख्न पाउनुपर्थ्यो । पारित गरेर मात्र राष्ट्रपतिसमक्ष लैजानुपर्थ्यो ।