राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण

असार ३१, २०८०


असार ३१, राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार उनले विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन् । सरकारले गत जेठ १५ गते बजेट संसदमा बजेट प्रस्तुत गरेको थियो । उक्त बजेट शुक्रबार संघीय संसदको दुबै सदनले पारित गरेपछि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको थियो ।

संविधानको धारा ११३ को उपधारा ९१० बमोजिम प्रमाणीकरणका लागि आएका विधेयक सोही धाराको उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै बजेट कार्यान्वयनको बाटो खुलेको छ ।