मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ खुल्यो

साउन २८, २०८०


साउन २८, सर्वसाधारणका लागि मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ आज आइतबार देखि निष्कासन भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको थियो । स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिएको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । यस्तै, २ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।

त्यसैगरी, ४० हजार कित्ता सेयर कर्मचारीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको कम्पनीले १ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेको छ । यो आइपिओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि भदौ १० गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो सेयरु अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीलाई केयर रटिङ नेपालले केयर एनपी डबल बी इस्युअरु रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।