‘बाबरी र प्रेमगञ्ज’को छायांकन जारी, रोकियो ‘आँधी तुफान २’

बैशाख १६, २०७८


देशभर कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा आजबाट निषेधाज्ञा सुरु भएको छ । यस्तै, काठमाण्डौ बाहिरका विभिन्न जिल्लामा पनि निषेधाज्ञा सुरु भैसकेको छ । यो सँगै छायांकनमा रहेका केही चलचित्रको काम भने प्रभावित भएको छ ।

गत बिहिबारदेखि छायांकन सुरु भएको चलचित्र ‘आँधी तुफान २’ को निर्माणपक्षले छायांकनको काम रोकेको छ । सरकारले निषेधाज्ञा जारी गरेकाले पनि काम रोकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिएका छन् । मदन घिमिरेको निर्देशनमा यो चलचित्रको छायांकन भैरहेको थियो । यस्तै, चलचित्र ‘बाबरी’को छायांकन भने जारी छ । वैशाखको ६ गतेबाट यो चलचित्रको छायांकन सुरु भएको हो ।

झापाको बुधबारेमा यो चलचित्रको छायांकन भैरहेको निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । लेटाङमा छायांकन गरेर यसको टिम बुधबारे पुगेको हो ।चलचित्रमा धिरज मगर र अदिती वुढाथोकीले अभिनय गरिरहेका छन् । यस्तै, परिच्छेद सुेनको निर्देशनमा तयार भैरहेको चलचित्र ‘प्रेमगञ्ज’को छायांकन भने जारी छ । नायिका बेनिशा हमालले काभ्रेमा चलचित्रको छायांकन भैरहेको जानकारी दिइन् ।

एक साता काभ्रेमै चलचित्रको छायांकन हुने बताइएको छ । काठमाडौंको छायांकन भने प्रभावित हुने निर्माणपक्षले बताएको छ । नायिका हमालले सुरक्षाको सबै प्रोटोकल अपनाएर काम भैरहेको जानकारी दिइन् ।कोभिडका कारण विभिन्न जिल्लामा निषेधाज्ञा सुरु भएपछि ‘कबड्डी ४, तिमीसँगै हुने मन छ, घिन्ताङ’ लगायतका चलचित्रको छायांकन भने सुरु हुन सकेको छैन ।