३ हजार फिल्मकर्मीलाई खोप लगाउन स्वास्थ मन्त्रालयलाई बोर्डको पत्र

जेठ २२, २०७८     सम्पूर्ण कुरा


नेपाली फिल्म क्षेत्रको नियगमन निकाय चलचित्र विकास बोर्डले तीन हजार फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप माग गरेको छ । शुक्रवार बोर्डको कोभिड १९ व्यवस्थापन हेर्ने संयोजक तथा बोर्ड सदस्य राज कटुवालले खोपको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र बुझाएका हुन् । फिल्मकर्मीलाई खोप उपलब्ध गराउन मन्त्रालय सकारात्मक देखिएको उनले बताएका छन् ।   खोपबारे छलफल गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आइतबार फिल्मकर्मीलाई मन्त्रालय बोलाएका थिए । तर, शुक्रवार साँझ मन्त्रीपरिषद् फेरबदल भएपछि स्वास्थ्य मन्त्रालयमा शेरबहादुर तामाङले हृदयेशलाई रिप्लेस गरेका छन् । मन्त्री हेरफेर भएपछि फिल्मकर्मीले खोप पाउनेमा आशंका उब्जिएको छ । बोर्ड मन्त्री तामाङलाई पनि भेटेर खोपका लागि पहल गर्ने तयारीमा छ ।   कोरोनाको दोस्रो लहरको चपेटामा सर्वसाधारणसँगै फिल्मकर्मीहरु पनि परेका छन् । केहीले कोरोनाकै कारण ज्यान गुमाए । केही कोरोनालाई परास्त गर्न सफल भए । केहीले भने कोरोनालाई जित्न घर वा अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् । तर, एकाधबाहेक फिल्मकर्मीहरुले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । यसतर्फ सरकारले पनि कुनै चासो दिएको छैन ।    चलचित्र विकास बोर्डका अध्यक्ष दायाराम दाहालले फिल्मकर्मीलाई खोपको व्यवस्था गर्न सके स्थिति सामान्य भएपछि स्वास्थ्य मापदण्डको पालना गर्दै फिल्मको सुटिङ सुरु गर्न सकिने बताएका छन् । अबको चरणमा फिल्मकर्मीलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको उनको भनाई छ । कोरोनाका कारण अहिले फिल्म क्षेत्रका गतिविधि पूर्ण रुपमा ठप्प रहेको छ ।