ओलम्पिकमा आज २५ स्पर्धाको फाइनल हुँदै, पदक तालिकामा चीनको फराकिलाे अग्रता

साउन १७, २०७८


एजेन्सी । जापानको टोकियोमा जारी ३२ औं ग्रिष्मकालीन ओलम्पिकको आज नवौं दिन थप २५ वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ ।

ओलम्पिकमा समावेश अधिकांश खेलको प्रतिस्पर्धा लगभग अन्तिमतिर आएको छ । फाइनल स्पर्धा नभएका खेलहरुको पनि समूह चरण सकिएर नकआउट चरणमा प्रतिस्पर्धा भइरहेको छ । टेनिसमा नोभाक जोकोभिच फाइनलमा पुगेका छन् भने फुटबलमा ब्राजिल, मेक्सिको, जापान र स्पेनले सेमिफाइनलमा स्थान बनाएका छन् ।

आज आइतबार ९ खेलको २५ स्पर्धाको फाइनल हुँदैछ । त्यसमध्ये पौडीको ५ र एथलेटिक्सका ४ स्वर्णको छिनोफानो आज हुनेछ । आज २३ खेलकाे प्रतिस्पर्धा हुनेछ ।

यता अहिलेसम्मको पदक तालिकामा तीनले फराकिलो अग्रता बनाएको छ । शीर्ष स्थानमा रहेको चीनले २१ स्वर्ण, १३ रजत र १२ कांस्य गरी जम्मा ४६ पदक जितेको छ । दोस्रो स्थानमा रहेको जापानले १७ स्वर्ण, ५ रजत र ८ कांस्य गरी ३० पदक जितेको छ ।

१६ स्वर्ण जितेको अमेरिकाले १७ रजत र १३ कांस्य जितेर समग्र पदक संख्या चीनको जत्तिनै बनाएको छ । ११ स्वर्ण जितेको रुस ओलम्पिक कमिटी चौथो स्थानमा छ । अष्ट्रेलियाले १० स्वर्ण जितेको छ भने ग्रेट ब्रिटेनले ८, दक्षिण कोरियाले ५ स्वर्ण जितेका छन् ।

फ्रान्स, नेदरल्याण्ड्स र न्युजिल्याण्डले ४–४ स्वर्ण जितेका छन् । ५ देशले तीन स्वर्ण तथा ५ देशले नै २ स्वर्ण जितेका छन् । २९ देशले एउटा स्वर्ण जितेका छन् ।