शिव र भुवनकै अगाडि करिश्माले भनिन, बोल्दा हेक्का राख्नुपर्छ ?

कार्तिक १४, २०७८


नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले मनोरञ्जन सम्बन्धि संस्थाबाट ‘महानायक र महानायिका’ को उपाधि पाएका छन् । तर, उनीहरुलाई दिइएको उपाधिलाई लिएर बेला बखतमा फिल्म क्षेत्र विवादित बन्ने गरेको छ । गत महिना एक फिल्मको कार्यक्रममा अघिल्लो पुस्ताका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीले ‘महानायक र महानायिका’ को विषयमा फरक मत राखे ।

भुवन केसीले शिव श्रेष्ठ ‘महानायक’ रहेको बताए भने शिवले भुवन नभएको भए नेपाली फिल्म इन्डस्ट्री पहिल्यै बन्द भइसक्थ्यो भन्दै उनको प्रशंसा गरे । त्यसैबेला उनीहरुले गौरी मल्ललाई ‘महानायिका’ घोषित गर्न पनि भ्याएका थिए । यसपछि ‘महानायक र महानायिका’ विवाद फेरि एकपटक सतहमा आयो । शिव र भुवनले बेमौसी बाजा बजाएको भन्दै चर्को आलोचना भइरहेको छ ।

यो विवादपछि शिव र भुवनसँँग करिश्माको पानी बाराबार भएको चर्चा चलेको थियो । तर, बुधवार साँझ काठमाडौंमा आयोजित अन्तरराष्ट्रिय कलाकार समाज इनासको महाधिवेशनमा शिव, भुवन, करिश्मा र गौरी एकसाथ देखिए । कार्यक्रम अवधिभर उनीहरुबीच खासै बोलचाल भएन । तर, घर फर्किने बेला उनीहरु मिडियामा एकसाथ अन्तर्वार्ता दिन भने तयार भएका थिए ।

मिडियासँग कुराकानीको क्रममा करिश्मा शान्त र गम्भीर मुद्रामा देखिएकी थिइन् । शिव, भुवन र गौरीसँग एकसाथ अन्तर्वार्ता दिन उनी असहज महशुस गरिरहेको उनको शारीरिक हाउभाउ र अनुहारको भावभंगीबाट बुझ्न सकिन्थ्यो । तर, उनले आफूहरुबीच कुनै खालको मनमुटाव नरहेको स्पष्ट पारिन् । कहिले काहिँ वैचारिक मतभेद भए पनि त्यसले सम्बन्ध नबिग्रने उनको भनाई छ ।

उनले भनिन्, ‘कुनै पनि कुरा अन्त्यसम्म रहँदैन, चाहे शत्रुता होस् वा मित्रता । चाहे राम्रो होस् वा नराम्रो । त्यो केही क्षणका लागि मात्र हुन्छ । किनभने, हामी मानिस भावनात्मक प्राणी हौं । विभिन्न प्रकारका भावनाहरु हामीमा आउँछन् र त्यो केही समयका लागि मात्र हुन्छ । हामी कलाकार एउटा परिवार हौं । कहिले काहिँ मतभेद हुनसक्छ तर त्यसलाई हामी इगोको रुपमा लिन्नौं ।

‘महानायक र महानायिका’ को विवाद झिकेका शिव र भुवनप्रति लक्षित गर्दै उनले अगाडि भनिन्, ‘हामी जनताको मान्छे भएपछि सार्वजनिक कार्यक्रममा बोल्दा हेक्का राख्नुपर्छ । अबदेखि यो कुरामा ख्याल गर्नेछौं । उनको कुराले शिव र भुवन ‘अक्क न बक्क’ भएका थिए । अभिनेत्री गौरी मल्लले भने फिल्म क्षेत्रमा पछिल्लो समय के भइरहेको छ भन्ने कुरा आफूले बुझ्न नसकेको बताइन् ।

पछिल्लो समय कलाकारहरुको सम्बन्ध विग्र्रनुमा उनले मिडियालाई दोषी औंला देखाएकी छन् । उनले भनिन्, ‘विग्रिएको सम्बन्ध पनि सुधार्न हिँडेका हामीहरु अहिले बनिरहेको सम्बन्ध पनि विग्रन थालेको छ । पछिल्लो समय मिडियामा आएका अनेक प्रकारका समाचारले कसैको चरित्र हत्या, व्यक्तिगत जीवन, मित्रतामा ह्रास आएको देखिएको छ । त्यो चाहिँ हुनु हुन्न भन्ने मेरो मान्यता हो ।

आफूलाई ‘महानायिका’ घोषित गरेका शिव र भुवनको बचाउ गर्दै उनले जो कोहीलाई स्वतन्त्र रुपले कुनै पनि कुरामा आफ्नो विचार या मत राख्ने अधिकार रहेको बताउँँदै त्यसलाई झैझगडा गराउने काम नगर्न मिडियाकर्मीलाई आग्रह गरिन् । पहिला पनि आफूहरुले विभिन्न कुरामा आफ्नो विचार राख्ने गरेको भए पनि यसप्रकारको वातावरण कहिल्यै सृजना नभएको उनको कथन छ ।

त्यस्तै, शिव श्रेष्ठले आफूहरुको मित्रता नमुना रहेको बताए । उनी भन्छन्, ‘हाम्रो मित्रता अटुट छ । हामी सँगै हुर्किएर आएका हौं र सास हुन्जेल हाम्रो मित्रता टुट्दैन । हाम्रो मित्रता अमर छ ।’ भुवनले पनि आफूहरुको सम्बन्ध कहिल्यै नविग्रने बताए । इनासको महाधिवेशनमा शिव, भुवन, करिश्मा, गौरीसँगै सरोज खनाल र संगीतकार शम्भुजित बास्कोटालाई सम्मानित गरिएको थियो ।