भदौसम्म कोरोना सङ्क्रमणको दर थप बढ्ने अनुमान, खोप लगाउन आग्रह

साउन २०, २०७९


काठमाडौँ, २० साउन ।

सरकारले भदौसम्म कोरोना सङ्क्रमणको दर थप बढ्ने अनुमान गरेको छ । साउन महिना लागेदेखि नेपालमा दैनिक सङ्क्रमित थपिनेको सङ्ख्या बढ्दै जाँदा यसले चौथो लहरको जोखिम बढेको सरकारको भनाइ छ । दैनिक ७ सयदेखि ९ सयको हाराहारीमा कोरोना सङ्क्रमित थपिन थालेको र दैनिक १ देखि २ जनाको मृत्यु हुन थालेकाले यसले चौथो लहरको जोखिम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। समिर कुमार अधिकारीले भदौसम्म कोरोनाका नयाँ सङ्क्रमित तीव्र गतिमा थपिने अनुमान गरिएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

उहाँले कोरोना सङ्क्रमणको दर बढ्न थालेको भन्दै कोरोनाविरुद्धको खोप अनिवार्य लगाउन आग्रह पनि गर्नुभयो । पछिल्लो एक सातामा सङ्क्रमण दर १५ प्रतिशतको हाराहारीले बढेको छ । साउन महिना सुरू भएपछि मात्रै १७ जना सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६ जनाले कोरोनाविरुद्धको खोप नलगाएका र एक जनाले एक मात्रा मात्र लगाएको पाइएको मन्त्रालयले जनाएको छ । गत वैशाख २१ गतेदेखि ७३ दिनसम्म कोरोनाका कारण मृत्यु शून्य रहेकामासाउन १ र २ गते धरान र काठमाडाँैमा एक–एक जनाको मृत्यु भएको थियो। यसपछि भने दैनिकजसो कोरोना सङ्क्रमितको मृत्यु हुने क्रम चलिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. अधिकारीका अनुसार खोप नलगाएकामा कडाखाले सङ्क्रमण देखिएको छ । मध्यम वा कडा लक्षण देखिए पनि त्यस्ता व्यक्ति केही दिनमै निको हुने गरेका छन् । खोप लगाएकाका हकमा मध्यमखाले कोरोनाको सामान्य लक्षण मात्रै देखिएको छ ।