मेला-महोत्सवको बिरोधमा बिहिवार तुलसीपुर बजार बन्दको घोषणा

मङि्सर १४, २०७९


मंसिर १४, तुलसीपुर उद्योग वाणिज्य सघंले बिहिवार पनि तुलसीपुर बजार बन्द गर्ने भएको छ । सघंले बुधवार बेलुका पत्रकार सम्मेलन गरि तत्कालका लागि मेला महोत्सवका कार्यक्रम स्थगित नभएको खण्डमा महोत्सव स्थलमै गएर विरोध गर्ने जनाएको छ ।

विहीबारदेखि तुलसीपुरको घोराही रोडमा उद्घाटन हुन लागेको महोत्सवको विरोध गर्न साविक राप्ती अञ्चलका सबै उद्योग बाणिज्य संघहरु दाङ आउन लागेको संघका महासचिब विनिल केसीले बताउनुभयो । त्यस्तै महोत्सव अहिलेको आबश्यकता नभएको भन्दै यसको विरोधले कडा रुप लिने अध्यक्ष रामप्रसाद चालिसेले बताउनुभयो । उहाँले क्लबको बिना उद्देश्यमा महोत्सव लगाउन मिल्ने वा नमिल्ने बारेमा पनि बुझ्नु पर्ने बताउनुभयो । ब्यसायीहरुका संस्थाहरुले सबै ब्याबसायीको सहमतिमा मेला लगाउन पाउने हुन्छ, किनकी त्यो ब्यबसायीहरुकै हितमा हुन्छ, उनले भने, तर एउटा क्लबले कसरी ब्यबसायीक महोत्सव लगाउन सक्छ । बुधबार तुलसीपुर बजार बन्द गरिएको भन्दै यो आन्दोलन भोलि पनि चल्ने उहाँको भनाई छ । सघंले अर्को सुचना जारी नभएसम्म तुलसीपुरका सबै व्यापार व्यवसायहरु बन्द गर्ने पनि जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पछिल्ला केहि दिनमा मेला महोत्सव आयोजना नहुने बताउनुभएको छ । अहिले मेला महोत्सव आयोजना गर्ने उपयुक्त समय होइन,हामीले तत्काल मेला महोत्सवलाइ कुनै पनि संघसंस्थालाइ स्वीकृति दिने छैनौं, प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, बरु क्लवले सञ्चालन गर्न लागेको मेला रोक्न पत्राचार गरेका छौँ ।

यसैबिच तुलसीपुर उपमहानगरपालिकाले पनि अहिले मेला महोत्सव लगाउने उपयुक्त समय नभएको बताएको छ । अहिले मेला महोत्सवको आवस्यकता होइन, मुलुकको आर्थिक समृद्धिकालागी आम निर्वाचन भैरहेका वेला मेला महोत्सव लगाएर यहांको अर्थतन्त्रलाइ थप धरापमा पार्न हामीले दिन हुन्न भन्ने स्थानिय सरकारको धारणा हो, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले भन्नुभयो । उहाँले यस अघि कसले सिफारीस दियो, कसले स्वीकृति दियो भन्दा पनि अव मेला महोत्सव लगाउनका लागि उपयुक्त समय र कार्यविधि तुलसीपुर उपमहानगरपालिकाले बनाएर मात्र मेला महोत्सवका लागि अनुमति दिने मेयर खड्काले तर्क गर्नुभयो ।