‘पशुपतिप्रसाद’ को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने

पुष ०३, २०७९


चर्चित फिल्म ‘पशुपतिप्रसाद’ मा निकै रुचाइएको पात्र थियो भष्मे डन । यो चरित्रले बिपिन कार्कीलाई घरेलु फिल्ममा स्थापित गरिदियो । यो पात्रमाथि सयौ मिम र ट्रोल बने । नेटिजनमाझ यसको चर्चा अहिले पनि सेलाएको छैन । यो लोकप्रिय पात्रमाथि फिल्म ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपतिप्रसादको स्पिन-अफ कुनै फिल्मको चर्चित पात्रमाथि केन्द्रित रहेर निर्माण हुने अर्को फिल्मको रुपमा यो प्रोजेक्ट बन्ने भएको हो । निर्माणमा ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र खनाल र अभिनेता खगेन्द्र लामिछानेले सहकार्य गर्ने छन् ।

दीपेन्द्रले निर्देशन र खगेन्द्रले निर्माण गर्ने निधो भएको छ । पटकथा पनि खगेन्द्र स्वयमले लेखिरहेका छन् । भष्मे डनको शीर्ष भूमिकामा बिपिनले नै अभिनय गर्नेछन् । पशुपतिप्रसादमा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् । साथै, मित बाको चरित्रलाई पनि स्पिन-अफमा ल्याउने तयारी छ । पटकथाको पहिलो ड्राफ्ट लेखन सकिएको छ जुन पढ्दा मज्जा आयो । सेलिव्रेटेड क्यारेक्टरलाई दर्शकले रुचाउने लागेर हामीले फिल्म निर्माणलाई अघि बढाउन लागेका हौं निर्देशक खनालले भने, पशुपतिप्रसादमा भष्मे डनको कथा जहाँनेर सकिएको थियो त्यहाँदेखि उसको आगामी यात्राको कथा यसमा समेटिनेछ ।

६ वर्षअघि प्रदर्शन भएको ‘पशुपतिप्रसाद’मा भष्मे डन पात्रले खराबदेखि सकारात्मक व्यवहारसम्मको यात्रा गरेको छ । उसमा आउने चरित्रको रुपान्तरणसँगै फिल्म सकिएको थियो । भष्मे डन फिल्ममा अब त्यो विन्दूदेखिको कथा सुरु हुनेछ । निर्देशक खनालले ‘भष्मे डन’ पशुपतिप्रसादको सिक्वेल वा प्रिक्वेल नभएको बताए । यो विशुद्ध स्पिन–अफ हो उनले भने, पशुपतिप्रसादको सिक्वेल बनाउनेतर्फ अहिले सोचेका छैनौं । भष्मे डन छायांकन फागुनदेखि सुरु हुँदैछ । फिल्मको प्रदर्शन आगामी दशैमा हुने भएको छ ।