युभेन्ट्सलाई हराउँदै नापोलीले जित्यो उपाधि

असार ०४, २०७७


कोप्पा इटालियाको उपाधि नापोलीले जितेको छ । गएराति भएको फाइनलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले छैटौं पटक उपाधि जितेको हो ।

रोमस्थित ओलम्पिक स्टेडियममा भएको फाइनलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

युभेन्ट्सका पाउलो डिबला र डानिलो पेनाल्टीमा गोल गर्न असफल भए ।

नापोलीका लरेन्जो इनसिग्ने, माटियो पालिटानो, निकोला माकसिमोभिक र अर्काडिउज मिल्लिकले गोल गरे । युभेन्ट्सका लागि लियोनार्दो बोनुची र आरोन राम्सेले मात्र गोल गरे ।

नापोलीले सन् २०१४ पछि पहिलो पटक कोप्पा इटालियाको उपाधि जितेको हो भने समग्रमा छैटौं उपाधि हो ।

युभेन्ट्सले सर्वाधिक १३ पटक उपाधि जितेको थियो ।