चलचित्रकर्मी माथिको गालीगलौज नरोकिए कानुनी प्रक्रिया खोज्ने

असार २९, २०७७


नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न ७ संगठनहरुले संयुक्त वक्तव्य जारी गर्दै चलचित्रकर्मीमाथि लक्षित गरी गालीगलौज र अश्लिल प्रतिक्रिया आएकोमा संवेदनशिल भएको जनाएका छन् ।

यस्तो किसिमको प्रतिक्रिया नरोकिएमा नेपालबाट आएको भए नेपालको साइबर कानुन र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारवाहीको प्रक्रिया अगाडि बढाउने उनीहरुको चेतावनी छ ।

विज्ञप्तीमा भनिएको छ–‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन हुनु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनिय मात्र होइन, अक्षम्य पनि हुन्छ ।’

विज्ञप्तीमा चलचित्रकर्मी र दर्शकविच अन्योन्याश्रित सम्बन्ध रहेपनि कुनै एक पक्षबाट शिष्टताको पराकाष्ट नाघेमा काुनी उपचारमा जानु वाध्यकारी हुन्छ भनिएको छ । नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्धन्द्ध संघ, नेपाल चलचित्र नृत्य संघले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।