सन्दीप लामिछाने ट्रिनिडाड एण्ड टोबागो जाँदै, सीपीएल खेल्न उत्साहित

साउन १५, २०७७


१५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आज ट्रिनिडाड एण्ड टोबागो जाँदैछन् ।

उनी कोरियन एअरको चार्टर्ड फ्लाइटबाट कोरिया जाने छन् । त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागो जानेछन् । उनी अगष्ट १ मा प्रतियोगितास्थल पुग्नेछन् ।

अगष्ट १८ देखि हुने सीपीएलमा सन्दीपले यस सिजन जमैका तल्लावाहजबाट खेल्नेछन् । प्रतियोगिताअघि सबै खेलाडी त्यहाँ पुगेर दुई साता क्वारेन्टिन बस्नुपर्नेछ ।

बिहीबार उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन् । यसका लागि उनले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ । ‘त्यहाँ पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ’, लामिछानेले भने ।

सीपीएल खेल्न जानुअघि उनले मंगलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए । उनले परीक्षणको रिपोर्ट बुधबार प्राप्त गरेका थिए । ‘कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ, अब ढुक्कका साथ जान पाउने भएँ, लामिछानेले भने ।

भदौ २ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि छनोट भएको खबर उनले गत असार २२ गते पाएका थिए । आफूले मागेकै पारिश्रमिकमा खेल्न पाउने खबरले उनी कम्ता खुशी भएनन् । लामिछानेले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । जमैका तलावाजले उक्त रकममै लामिछानेलाई अनुबन्ध ग¥यो ।

ट्रिनिडाड एन्ड टोबागोबाट लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमेरेटस् (युएई) जानेछन् । कोरोना महामारीका कारण यसपटक आईपीएलको १३औँ संस्करण असोज पहिलो सातादेखि युएईमा हुँदैछ । लामिछाने आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने छन् । लामिछाने तेस्रोपटक आईपीएल खेल्न लाग्दैछन् । ‘अब चाँडै नेपाल फर्किने सम्भावना छैन, तर जहाँ गए पनि नेपालको इज्जत र प्रतिष्ठाका खेल्छु’, लामिछानेले भने ।