युभेन्टसको हारसँगै रोनाल्डोले अवसर गुमाए

साउन १५, २०७७


मिलान — इटालीको ‘सिरी ए’ मा सिजनको सर्वाधिक गोलकर्ता हुने अवसरले क्रिस्टियानो रोनाल्डो गुमाएका छन् । कागलिरीविरुद्धको बुधबारको खेलमा युभेन्टस  २–० ले पराजित रह्यो र रोनाल्डो आफ्नो गोल संख्या बढाउन चुके ।

३५ वर्षीय रोनाल्डोले यो सिजन ३१ गोल गरेका छन् र उनी लाजियोका सिरो इम्बोली भन्दा चार गोलले पछाडि छन् । अब लिग चरणमा युभेन्टस को एक खेल मात्र बाँकी छ र त्यो एएस रोमाविरुद्ध रहेको छ ।

लिगको १३‌औं स्थानमा रहेको कागलिरीले आठौं मिनेटमा २० वर्षीय खेलाी लुका गागलिनोको गोलले अग्रता लिएको थियो । जियोभानी सिमोनीले गोल थपे ।

बुधबारकै अन्य प्रमुख खेलमा लाजियोले ब्रेसियालाई २–०, रोमाले टुरिनोलाई ३–२ र एसी मिलानले साम्पडोरियालाई ४–१ ले हरायो ।