च्याम्पियन युभेन्टस अन्तिम खेलमा पराजित

साउन १८, २०७७


१८ साउन, काठमाडौं । इटालियन सिरी ए को उपाधि जितिसकेको युभेन्टस अन्तिम खेलमा रोमासँग ३-१ ले पराजित भएको छ । क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा युभेन्टसले पहिले अग्रता लिएपनि रोमाले उत्कृष्ट पुनरागमन गर्दै खेल जितेको हो ।

यस्तै दोस्रो स्थानको इन्टरले तेस्रो स्थानको एटलान्टालाई पराजित गर्दा चौथो स्थानको लाजियो सातौं स्थानको नापोलीसँग पराजित भएको छ ।

यसअघि नै उपाधि पक्का गर्दै लगातार नवौं पटक च्याम्पियन बनिसकेको युभेन्ट्सले घरेलु मैदानमा गोन्जालो हिगवेनको गोलमार्फत खेलको पाँचौ मिनेटमै अग्रता दिलाएका थिए । तर युभेन्टसले उक्त अग्रता जोगाउन सकेन भने रोमाले उत्कृष्ट पुनरागमन गर्‍यो ।

२३औं मिनेटमा निकोला कालिनिकले रोमाको लागि बराबरी गोल फर्काए । ४४औं मिनेटमा डिएगो पेरेट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

५२औं मिनेटमा पेरेट्टीले नै व्यक्तिगत दोस्रो गोल गरेपछि रोमाले ३-१ को अग्रता बनायो। त्यसपछि गोल भएन र रोमा विजयी भयो ।

पराजित भएपनि युभेन्ट्सले घरेलु मैदान सिरी ए को ट्रफी उचालेको थियो ।