सन्दीप लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने

साउन १९, २०७७


काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । 

सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ । “प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नु परेको हो”, उनका व्यवस्थापक रमन शिवाकोटीले भने । यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनु पर्ने उनले बताए । “पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ”, उनले भने । 

सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका हुन् । उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो । उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सीपीएल खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उक्त प्रतियोगितामा उनले पाँच खेलमा सात विकेट लिएका थिए ।

सन्दीप टोबागोबाट सोझै इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्न असोज दोस्रो साता युनाईटेड अरब इमिरेटस् जानु हुनेछ । यसपटक १३औँ संस्करणको आईपीएल आगामी सेप्टेम्बरदेखि युएईमा शुरु हुँदैछ । कोरोना भाइरसका कारण यसपटक आईपीएल भारतमा आयोजना गर्न नकिएको हो ।

आईपीएल युएईमा आयोजना गर्न भारत सरकारले आयोजकलाई आइतबार अनुमति दिएपछि सो प्रतियोगिता हुने पक्का भएको हो । सन्दीपले आईपीएल दिल्ली क्यापिटल्सबाट खेल्नुहुनेछ । उहाँले आईपीएल खेल्न लागेको तेस्रो पटक हो । यसअघिका दुई संस्करण पनि उनले दिल्ली टोलीबाटै खेलेका थिए ।