आईपीएलमा सन्दीप लामिछाने खेल्न पाउने सम्भावना कति ?

भदौ ३०, २०७७


भारतीय राष्ट्रिय टोलीका पूर्वखेलाडी र अहिले एक चर्चित खेल कमेन्टेटर आकाश चोपडालाई अघिल्लो हप्ता नेपाली क्रिकेट समर्थकहरूले र्‍याखर्‍याखती पारे, विषय पात्र सन्दीप लामिछाने थिए। उनले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडिओमा नेपाली समर्थकहरूको प्रश्न थियो, दिल्ली क्यापिटल्समा रहेका चार स्पिनरहरूमध्ये नियमित रूपमा टीममा पर्नसक्ने दुईजना को हुन्?

लामिछानेप्रति नेपाली समर्थकहरूको चासो सहजै बुझेका उनले भने, “मलाई थाहा छ, तपाईँहरूको चासो दिल्लीलाई कस्तो वा कुन प्रकारको स्पिनर आवश्यक छ भन्नेमा होइन, लामिछाने टीममा पर्छन् वा पर्दैनन् भन्ने मात्रै हो।” त्यो चासो सम्बोधन गर्दै चलाखीपूर्ण जवाफ दिए, “मेरो विचारमा मिश्रा, पटेल, आश्विन र लामिछाने सबै स्पिनर एकैपटक मैदानमा खेल्न सक्छन्।”

चोपडाको विचारमा थुप्रै योग्य घरेलु खेलाडीहरू रहेकाले दिल्ली क्यापिटल्सले चार जनाको सट्टा तीन विदेशी खेलाडी मात्र खेलाउन सक्छ। क्यारेबियन प्रिमियर लीग (सीपीएल) मा करिअरकै राम्रो प्रदर्शन गरेका लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित व्यवसायिक क्रिकेट आईपीएल खेल्न त्यहाँबाट सीधै यूएईतर्फ लागेका छन्।

दुईवर्ष अगाडि आईपीएलबाट नै व्यावसायिक क्रिकेटमा छाएका सन्दीपले त्यसयता विश्वका प्राय: सबै फ्रेञ्चाइज क्रिकेटमा आफूलाई उतारिसकेका छन्। तर थुप्रै भारतीय क्रिकेट पण्डितहरू भन्छन्: यसपटक दिल्लीमा स्थान पाउन लामिछानेको निम्ति चुनौती देखिन्छ।

ठाउँ नपाउन सक्ने कारण के ?

मुख्य कारण हो, दिल्लीले लामिछानेसँगै स्पिनरहरू अमित मिश्रा, रवीचन्द्रन आश्विन र अक्षर पटेललाई टोलीमा राखेको छ। नियमित लेग स्पिनर मिश्रा र अलराउन्डर पटेल हुँदाहुँदै दिल्लीले पछिल्लो समय टोलीमा बायाँ हाते अफ स्पिनर आश्विनलाई पनि भित्र्याउनु लामिछानेको लागि चुनौती बनेको ठानिएको छ।

भारतीय क्रिकेट पण्डितहरूका अनुसार राम्रो ब्याटिङ क्षमता भएका किङ्ग्स-११ पन्जाबका पूर्व कप्तान आश्विन दिल्लीको पहिलो रोजाइ मा पर्नेछन्। उनीमाथि साढे ७ करोड भारतीय रुपैयाँ लगानी गरेको बताइएको छ।

त्यस्तै उनीहरू ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रा मानिने अलराउण्डर अक्षर पटेललाई पनि बेन्चमा बस्ने खेलाडी मान्दैनन्। विशुद्ध बलर मिश्रा र लामिछाने दुवै लेग स्पिनर हुन्। दिल्लीले ४ करोड भारतीय रूपियाँमा अनुबन्ध गरेका मिश्रा अनुभवी खेलाडी हुन्। गतवर्ष उनको इकोनोमी रेट ६ दशमलब ७५ थियो। तीन वर्षका लागि २० लाख भारतीय रूपियाँमा अनुबन्धित लामिछानेको इकोनोमी रेट गत वर्ष ८ भन्दा माथि थियो। ब्याटिङमा दुवै कमजोर देखिन्छन्।

लामिछानेको सबल पक्ष!

कडा टक्करका माझ पनि केही परिस्थिति लामिछानेको पक्षमा देखिन्छ। त्यसमा प्रमुख हो, सीपीएलमा लामिछानेले गरेको लोभलाग्दो प्रदर्शन। सीपीएलमा जमैका तलावासबाट खेलेका उनले ११ खेलमा १२ विकेट लिए र टोलीलाई सेमीफाइनलमा पुर्‍याउन सहयोगी बने। 

आईपीएलको मुखमा उक्त प्रतियोगितामा ५ दशमलब २७ को ‘इकोनोमी रेट’ मा बल फ्यालेर ‘फर्म’ चुस्त रहेको देखाउन सक्नु लामिछानेको सबल पक्ष देखिन्छ। आईपीएल यसपटक भारतको सट्टा यूएईमा हुनु उनको निम्ति अर्को राम्रो पक्ष हो।

यूएईको ‘पिच’ स्पिनरहरूका निम्ति सुहाँउदो मानिन्छ र राष्ट्रिय टोलीबाट लामिछानेले त्यहाँ थुप्रै खेल खेलिसकेका छन्। अनि, त्यहाँ लामिछानेको प्रदर्शनमा विश्वास राख्ने भनिएका प्रशिक्षक रिक्की पोन्टिङ पनि छन्।

लामिछानेको आत्मविश्वास

लामिछाने आईपीएलको तेस्रो सिजनमा आफूले राम्रो छाप छोड्ने विश्वासमा देखिन्छन्। सीपीएल सकिएपछि उतैबाट दुबई लागेका उनले क्रिकेटिङ नेपाललाई दिएको एक अन्तर्वार्तामा लामिछानेले आफू टोलीबाट खेल्ने र सक्दो योगदान गर्ने बताएका छन्।

उनले भने, “खेल्न पाउने अवसरको बारेमा अहिले नै भन्दा अलिक हतार होला, तर राम्रो लयमा छु भने मैले थुप्रै खेल खेल्न पाँउछु होला।” दुबई पुगेका लामिछाने त्यहाँ ६ दिन क्वारन्टीन बसेर अभ्यासमा सम्मिलित हुने बताइएको छ। आईपीएल असोज ३ गते अर्थात् सेप्टेम्बर १९ बाट सुरु हुनेछ। दिल्लीले उद्घाटनको भोलिपल्ट किङ्ग्स-११ पन्जाबसँग खेलेर आईपीएलको यात्रा सुरु गर्नेछ।

समाचार : बीबीसी नेपाली सेवा