फुटबलर राजेश परियारले भारतीय दोस्रो डिभिजनको आई लिग खेल्ने

भदौ ३१, २०७७


भदौ ३१, १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलतर्फ स्वर्ण जितेका राजेश परियारले भारतीय दोस्रो श्रेणीको फुटबल आई लिग खेल्ने भएका छन् । राजेशलाई दोस्रो डिभिजनको आई लिग क्लब अरा एफसी (अहेमवाद राकुएटा केडेमी फुटबल क्लब) ले अनुबन्ध गरेको हो ।

लिग अन्तर्गत सिजनको बाँकी खेलका लागि क्लबले अनुबन्ध गरेको राजेशले बताए । अनुबन्ध रकम भने खुलाउन नमिल्ने उनले बताएका छन् । ‘भारतीय क्लबमा अनुबन्ध हुन पाउँदा एकदमै खुसी छु । म क्लबलाई माथि पुर्‍याउन सक्दो सहयोग गर्ने प्रयास गर्नेछु, राजेशले भने । राजेशलाई अनुबन्ध गरेको टिम अरा एफसी लिगअन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा छ । कोरोना महामारीका कारण भारतमा दोस्रो डिभिजनको लिग स्थगित भएको थियो ।

राजेशले विभिन्न उमेर समूहको राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन् । गत मंसिरमा नेपालमै भएको सागमा यू-२३ पुरुष फुटबल टिमले स्वर्ण जित्दा राजेश त्यसको सदस्य थिए । घरेलु लिगमा राजेशले न्यूरोड टिम एनआरटीबाट खेल्दै आएका छन् । राजेश सेप्टेम्बर १७ मा भारत जाँदैछन् । भारत पुगेपछि आधिकारिक रुपमा सम्झौता हुने राजेशले बताएका छन् ।

नेपालकै अर्का खेलाडी अभिषेक रिजाल पनि दोस्रो डिभिजनकै मोहम्मेदन स्पोर्टिङ क्लबमा अनुबन्ध भइसकेका छन् । राजेशसँगै सागमा स्वर्ण जितेका अभिषेकले राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् ।