आँचलले नियुक्त गरिन् म्यानेजर

मङि्सर २४, २०७७


हलिउड र बलिउड जस्ता ठूला फिल्म उद्योगका कलाकारहरुले आफ्नो सहयोगका लागि म्यानेजर राख्ने गरेका छन् । सामाजिक सञ्जाल चलाउन, निर्माता र निर्देशक सँग फिल्मको विषयमा कुराकानी गर्न, पारिश्रमिक मिलाउन, समय व्यवस्थापन लगायतका कामका लागि उनीहरुले म्यानेजर नियुक्ति गरेका हुन्छन् । आफ्नो सुरक्षाका लागि उनीहरुले बडिगार्ड समेत राख्ने गरेका छन् ।

तर, नेपाली कलाकारहरु एकाधले मात्र आफ्नो कामलाई सहज बनाउन म्यानेजर राखेका छन् । प्रायः लाई फिल्मको विषयमा कुराकानी गर्नेदेखि पारिश्रमिक सम्म आफैं मिलाउनु पर्ने बाध्यता छ । आम्दानी सीमित हुने भएकाले नेपाली फिल्मका कलाकारहरु म्यानेजर राख्ने आँट गर्दैनन् । पछिल्लो समय भने केही चल्तीका अभिनेता तथा अभिनेत्रीहरुले म्यानेजर नियुक्त गरेका छन् ।

बैबाहिक जीवनमा बाँधिनु भन्दा अगाडि म्यानेजरले गर्ने काम समेत आफैंले सम्हाल्दै आएकी अभिनेत्री आँचल शर्माले आफ्नो सहयोगका लागि म्यानेजर राखेकी छन् । उनले २ महिना अगाडि एक महिलालाई म्यानेजरको रुपमा नियुक्त गरेकी हुन् । अहिले आँचललाई अफर हुने फिल्म देखि म्यूजिक भिडियोका मेकरसँग कुराकानी गर्न उनले म्यानेजरलाई पठाउने गरेको बुझिएको छ ।

गत वर्ष विवाह बन्धनमा बाँधिएकी आँचल शर्मा लकडाउन यता म्यूजिक भिडियोमा व्यस्त छिन् । उनी आफैं पनि फिल्म निर्माण गर्दैछिन् । विवाह गर्नुभन्दा अगाडि फिल्म ‘झिँँगेदाउ’ को छायांकन पूरा गरेकी उनले निर्देशक मिलन चाम्सको नयाँ फिल्म साइन गरेकी छन् । ‘नाईं नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘दाल भात तरकारी’ हो ।