कसरी जन्माउने त नयाँ आइडिया ?

बैशाख १६, २०७७


सफल व्यवसायी ज्याक माको एउटा भनाई छ, ” नक्कल गर्यौ भने तिमी हराउँछौ ” । नहराउनको लागि आफैले नयाँ ‘आइडिया’ जन्माउन सक्नुपर्छ । नयाँ आइडिया सहज पक्कै हुन्न, विभिन्न परिक्षणबाट गुज्रिनुपर्ने हुन्छ । तर त्यसले तपाईंको आफ्नै परिचय बनाइदिन सक्छ ।

समस्या सधै अवरोध मात्र होइन, अवसर पनि हो । कुनै पनि समस्यालाई अवरोधको रुपमा हेरेर मात्र नबस्नुहोस्, त्यसको समाधान खोज्नुहोस् । ती समाधानका उपायहरुमा तपाईंले कामको लागि नयाँ आइडिया जन्माउन सक्नुहुन्छ , आफ्नो लागि नयाँ अवसर भेट्न सक्नुहुन्छ ।

समय हुँदा आफूले गर्दै आइरहेको काम छोडेर आफ्नो रुचीको काम गर्नुहोस् । आफ्नो रुचीको काम गर्दा मन रमाउँछ र त्यसमा सिर्जनात्मक क्षमता प्रस्फुटन हुन्छ । यसले गर्दा ती काममै नयाँ आइडियाहरु जन्मिन सक्छन् ।

सधै एउटा डायरी लिएर हिड्ने गर्नुहोस् । यसो गर्दा तपाईंले आफ्नो दिमागमा आएका कुरा, बाटोमा या आफू पुगेको ठाउँमा देखेका, सुनेका नौला कुराहरु डायरीमा टिप्न सक्नुहुन्छ । जसबाट तपाईंले नयाँ सोंच, नयाँ आइडियाको विकास गर्न सक्नुहुन्छ ।

सभा सेमिनारहरुमा सहभागी हुनुहोस् । आवश्यक तालिम लिनुहोस् । विभिन्न बौद्धिक कार्यक्रम हेर्नुहोस् । व्यवसायिक र बौद्धिक व्यक्तित्वहरुसंग नेटवर्क विस्तार गर्नुहोस् । सामाजिक संजालमा उनीहरुलाई ‘ follow ‘ गर्नुहोस् । उनीहरुका विचार पढ्नुहोस् र उनीहरुको कामलाई अवलोकन गर्नुहोस् ।

आफ्नो रुचीका र संगै आफ्नो कामसंग सम्बन्धित सामग्री या पुस्तकहरु पढ्नुहोस् । अध्ययनले सोंच्न सक्ने क्षमतामा वृद्धि गरिदिन्छ, साथै धेरै भन्दा धेरै कुराहरुको बारेमा जानकारी लिन सकिन्छ । सकारात्मक सोंच भएका, काम गरिरहेका, केही गर्ने लक्ष्य बोकेका साथीहरुसंग संगत बढाउनुहोस् ।

समाचार हेर्नुहोस् । नयाँ कुराहरुसंग अपडेट रहनुहोस् । बजारमा के चलिरहेको छ, के कुराको सम्भावना रहेको छ, कस्ता समस्याहरु छन् जस्ता कुराहरुबारे जानकारी लिनुहोस् ।

आफ्नो दिमागलाई ताजा र सकारात्मक राख्न सक्नुभयो भने मात्र नयाँ सोंच, नयाँ आइडिया आउन सक्छन् । त्यसैले शारीरिक अभ्यास, योग, ध्यान गर्ने, गीत संगीत सुन्ने, मनोरंजनमा सहभागी हुने, परिवारका सदस्यसंग र साथीहरुसंग समय बिताउने, व्यक्तिगत सरसफाई गर्ने, सन्तुलित भोजन खाने गर्नुहोस्