लिभरपुलले प्यालेसलाई ४-० ले हरायो,लिभर उपाधि नजिक

असार ११, २०७७


लिग लिडर लिभरपुल प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको छ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले प्यालसलाई ४-० ले पराजित गरेको हो । लिभरपुललाई अब उपाधि जित्न एक जित मात्र आवश्यक छ । तीन दशकपछि प्रिमियर लिग उपाधि जित्न लागेको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि २३ अंकको अग्रता बनाएको छ ।

लिभरपुलले खेलको दुवै हाफमा दुई-दुई गरेको थियो । २३औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मोहम्मद सालाहले ४४औं मिनेटमा अग्रता दोब्बर पारे । फाबिन्होले ५५औं र साडियो मानेले ६९औ मिनेटमा गोल थपेपछि लिभरपुलले सहज जित हात पारेको हो ।

जितपछि ३१ खेलबाट लिभरपुलको ८६ अंक छ । दोस्रो स्थानमा हेको सिटीको ३० खेलबाट ६३ अंक छ । सिटीले आज राति चेल्सीसँग स्टानफोर्ड ब्रिजमा खेल्दैछ । उक्त खेलमा चेल्सी विजयी भए लिभरपुल ७ खेलअघि नै च्याम्पियन बन्नेछ । लिभरपुलको अर्को खेल सिटीसँगै छ ।

लिभरपुलसँग हारेको प्यालेस ३१ खेलबाट ४२ अंकसहित नवौं स्थानमै यथावत छ ।