उत्कृष्ट लेखलाई चलचित्र पत्रकार संघले गर्‍यो पुरस्कृत

साउन ०४, २०७७


नेपाली चलचित्रको विधामा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ नेपालले आह्वान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध-खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख-रचना तथा धारणा सम्बन्धि प्रतियोगितामा उत्कृष्ट ठहरिएका चारवटा लेखलाई पुरस्कृत गरिएको छ ।

पाँच जनाको छनौट समितिले मापदण्डसहित मूल्याङ्कनको आधारमा ४ वटा लेखलाई उत्कृष्ट ठहर गर्दै विजेताहरुलाई शनिवार संघको केन्द्रिय कार्यालयमा नगदसहित पुरस्कृत गरिएको हो । जसमा प्रथम, द्वितिय, तृतिय र चौथो क्रमशः पत्रकार ध्रुव लम्साल, विष्णु शर्मा, मनोज न्यौपाने र रीना मोक्तानलाई प्रमाणपत्रसहित १५ हजार, १० हजार र ५/५ हजार नगद प्रदान गरिएको हो ।  

संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुने र छनौट समितिलाई बधाई तथा धन्यवाद व्यक्त गर्दै संघका अध्यक्ष दिनेश सिटौलाले आगामी दिनमा सदस्यहरुको क्षमता अभिवृद्धिका लागि भिडियो र फोटो पत्रकारितालाई लक्षित गरेर सोही प्रकृतिका कार्यक्रमहरु पनि आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे । उनले संघ सधैं सदस्यहरुको हकहितका लागि लड्ने पनि बताए ।

चलचित्र क्षेत्रको वर्तमान वस्तुस्थिति र भविष्यमा यस क्षेत्रलाई गतिशिल बनाउने सम्भावनाहरुलाई पनि यस प्रकारका अभियानले चलचित्र पत्रकारमा लेखनवृत्तिको अभ्यास र प्रोत्साहन हुने संघको ठहर छ । संघले लेख-रचना छनौट समितिमा रहेका विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जिवन कुमार पराजुली र समीर बलामीलाई पनि धन्यवादसहित प्रमाण पत्र प्रदान गरेको छ ।