डेढ महिनापछि हलमा नयाँ नेपाली फिल्म

फागुन २१, २०७७


फागुन महिना नेपाली फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । यो महिनामा जाडो र गर्मीको सन्तुलन रहने भएकाले दर्शकहरु अल्छी नमानि फिल्म हेर्न हलसम्म आउने सोचाई फिल्मकर्मी हरुमा छ । कोरोना महामारीभन्दा अगाडि फागुन महिनाको हरेक हप्ताको शुक्रवार सिनेमा हलमा नयाँ फिल्मको कमी हुँदैन थियो । एकै हप्ता तीन वटासम्म फिल्म जुध्ने गरेको उदाहरण छ ।

तर, कोरोना भाइरस महामारीका कारण ९ महिना बन्द भएर पुष १० गतेबाट खुलेका सिनेमा हलमा माघ १ गते आएको अभिनेता शिव श्रेष्ठ अभिनीत तथा निर्मित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ पछि अरु नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । नयाँ फिल्म नहुँदा हल सञ्चालकहरु पुराना फिल्म चलाउन बाध्य छन् । जसले गर्दा हलमा दर्शकको उपस्थिति पनि उत्साहजनक छैन ।

कोरोनाका कारण दर्शक हलमा नआउने डरले नयाँ फिल्म प्रदर्शन गर्न निर्माताहरु तयार नभएको अवस्थामा शुक्रवारबाट डेढ महिनापछि सिनेमा हलमा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । तीन वर्ष अगाडि नै निर्माण भएको फिल्म ‘गोर्खे’ शुक्रवारबाट देशव्यापी प्रदर्शनमा उत्रिएको हो । विना प्रचार प्रदर्शनमा आएका कारण यो फिल्मको बारेमा धेरै कम दर्शक जानकार छन् ।

प्राविधिकहरुले मिलेर निर्माण गरेको फिल्मले गोर्खाली सैनिकको बहादुरीको कथा भन्छ । किम्मत गौतमको निर्देशनमा बनेको फिल्ममा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाले फिल्मको निर्माण गरेका हुन् ।

गोर्खाली सैनिक बन्ने सपना बोकेका ५ युवाहरुको कथा वाचन गरेको यस फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डि. गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छ । सिनेमा हलहरुमा नयाँ फिल्मको अभाव भएकाले राजधानीका ठूला मल्टीप्लेक्सहरुले यो फिल्मलाई पर्याप्त सोज उपलब्ध गराएका छन् ।