दाङमा “मञ्जिल”काे शुभ मुहर्त

फागुन २१, २०७७


दाङ २१ फागुन।
सन्देश शाहको एक्सन कट रहेने चलचित्र “मञ्जिल”को शुक्रबार शुभ मुहर्त गरिएको छ। दाङकाे प्रसिद्ध धार्मिक स्थल अम्बिकेश्वरी मन्दिर परिसरमा चलचित्रकाे शुभमुहुर्त गरेर छायांकन कार्य शुरु गरिएकाे छ।

अमर घर्तीले निर्माण गर्ने चलचित्रकाे अधिकांश छायांकन दाङमै गरिने निर्देशक शाहले जानकारी दिनुभयाे। यस अघि थुप्रै म्युजिक भिडियो र छाेटाे अवधिकाे चलचित्र निर्माण गरिसक्नु भएका घर्तीले पहिलाे पटक ठूलाे पर्दामा काम गर्न लाग्नु भएकाे छ।

चलचित्र मञ्जिलमा धिरेन शाक्य, सागर खनाल, एलिशा बास्ताेला, शशी शर्मा मजगैयाँलगायतकाे अभिनय रहनेछ। यस्तै, बाल कलाकारहरु सुभेष नेपाल, उजेश न्याैपाने र श्रेया बुढाथाेकीकाे पनि सशक्त अभिनय रहनेछ।

माधव शर्माको लेखन, पटकथा रहेकाे चलचित्र निर्माणमा ५० लाख प्रारम्भिक लागत अनुमान गरिएकाे छ। चलचित्र कमर्सियल र सस्पेन्स प्रेम कथामा अाधारित रहेकाे निर्देशक शाहले बताउनुभयाे।

चलचित्रको शुभमुहुर्त गर्दै निर्देशक शाहले चलचित्रकाे कथाबस्तु अनुसार कलाकार अनुबन्ध गरिएकाले सफल हुने विश्वास व्यक्त गर्नुभयाे।
२० दिनमा छायांकन सकाउने लक्ष्य राखिएकाे छ। दाङ, प्युठान,राेल्पा र काठमाडौमा चलचित्रको छायांकन गरिने निर्माण टिमको भनाई छ।

यस अघि अधुराे प्रेम, सुपर हिराेलगायत चलचित्र निर्देशन गरिसक्नु भएका उहाँले नाई नभन्नु ल ५, छक्का पञ्जा लगायतका सफल चलचित्रको सहायक सम्पादनकाे काम गरि अनुभव संगाल्नु भएकाे छ।

यस्तै, दाङ निवासी चलचित्रका नायक सागर खनालले मञ्जिलबाट ठुलाे पर्दामा डेव्यु गर्ने माैका पाउनु भएकाे छ। निर्माण पक्षले नायककाे भुमिकामा काम गर्ने अवसर दिएकाेमा अाफुले शतप्रतिशत अभिनय दिने प्रतिवद्धता जनाउनुभयाे। यस्तै, चलचित्रकी नायिका एलिशा बास्ताेलाले थुप्रै म्युजिक भिडियाेमा काम गरिसकेकाे अनुभवलाई अब चलचित्रमा उतार्न पाउँदा निकै उत्साहित भएकाे बताउनुभयाे।

निर्माता अमर घर्तीले दाङका प्राकृतिक तथा ऐतिहासिक धार्मिक क्षेत्र र कलालाई चलचित्रकाे माध्यमबाट उजागर गर्ने लक्ष्य पूरा गर्न काम थालनी गरिएको बताउनुभयाे।अमर युनिक ईन्टरटेनमेन्ट प्रालिकाे व्यानरमा निर्माण हुने चलचित्रको बाबु श्रेष्ठ र साैरभ लामाले छायांकन गर्दै हुनुहुन्छ ।

रेड ड्रागन क्यामरा प्रविधिसहितकाे छायांकन गरिएकाले चलचित्र उच्च गुणस्तरकाे हुने निर्माण पक्षकाे दावी छ। अागामी बैशाख दाेश्राे सातासम्म चलचित्रकाे सम्पादनलगायत सबै काम सकाउने लक्ष्यका साथ छायांकन भईरहेकाे छ। चलचित्र मञ्जिलकाे प्रदर्शन गर्नु अघि च्यारिटी शाे दाङमा गर्ने याेजना रहेकाे चलचित्र प्राेडक्शन म्यानेजर नारायण नेपालले जानकारी दिनुभयाे।