तिहारमा अभिनेता प्रमोद अग्रहरीको चलचित्र ‘ए’

चैत ०९, २०७७


अभिनेता प्रमोद अग्रहरी अभिनीत चलचित्र ‘ए’ ले आउँदो तिहारलाई प्रदर्शन मिति रोजेको छ । आइतवार वितरक कम्पनी जिजिए ग्रुप र निर्माताबीच भएको छलफलपछि चलचित्रलाई तिहारमा प्रदर्शन गर्ने निर्णय भएको हो । तर, चलचित्र कुन मितिमा प्रदर्शन हुने त्यसको भने तय भइसकेको छैन । सस्पेन्स थ्रिलर कथामा निर्माण भइरहेको चलचित्रका निर्देशक भोमन कटुवाल हुन् ।

गएको मंगलवारबाट छायांकन सुरु भएको चलचित्रमा सोहित मानन्धर, रिश्ता बस्नेत, रवि गिरी, प्रविन खतिवडा, सि.एम भारद्वाज, विकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, विपिन कार्की लगायतको पनि अभिनय छ । सस्पेन्स थ्रिलर कथामा निर्माण भइरहेको चलचित्रको पटकथा तथा संवाद भोमन कटुवाल र आकाश उखेडाको हो । चलचित्रको कथा राकेश रनपालले लेखेका हुन् ।

अनिल कुमार महर्जनले सम्पादन गर्ने चलचित्रलाई मोहन कुमार झिल्लुले खिचिरहेका छन् । राजु किराँतको द्वन्द्व निर्देशन रहने चलचित्रको गीतमा सुरेश गैरेले संगीत भरेका छन् । यो चलचित्रमा जासुसीको भूमिकामा देखिन प्रमोद अग्रहरीले आफ्नो गेटअप नै परिवर्तन गरेका छन् । उनको भिन्न गेटअपका कारण पनि दर्शकहरुमा चलचित्रप्रति कौतुहलता र उत्सुकता जागेको छ ।