राहत लिएर प्राविधिकहरूसम्म पुग्यो नेपाल चलचित्र प्राविधिक संघ

जेठ १६, २०७८


काठमाडौं,
जेठ १६ ।

नेपाल चलचित्र प्राविधिक संघले कोरोना संक्रमणको नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञाबाट प्रभावित भएका चलचित्र प्राविधिकहरूलाई राहत वितरण गरेको छ । प्राविधिक संघकी कोषाध्यक्ष गीता पौडेल र मेकअप आर्टिस्टसमेत रहनुभएका अभियन्ता अमृत मरहठ्ठाको पहलमा ४० जना प्राविधिकहरूलाई राहत वितरण गरिएको हो ।

राहत वितरणमा मोडल स्मिता थापा, चलचित्र निर्माता रेशम सापकोटा लगायतकाका चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो । निषेधाज्ञामा घरभित्रै रहेका प्राविधिक कर्मचारिहरूको जीवन यापनमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले घरघरमै पुगेर राहत बाढिएको थियो । राहत स्वरुप एक बोरा चामल, दुई लिटर तेल, एक किलो दाल, एक किलो चिनी, एक किलो चना, एक किलो चिउरा र एक प्याकेट चियापत्ति वितरण गरिएको बताइएको छ ।

नेपाल चलचित्र प्राविधिक संघले बन्दाबन्दीबाट समस्यामा परेका चलचित्रकर्मी तथा प्राविधिकका लागि आवश्यकता अनुसार राहतको कार्यक्रम जारी राख्ने जनाएको छ ।