नेयमारले उत्कृष्ट प्रदर्शन गर्दा विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जित

जेठ २७, २०७८


काठमाडौं । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पार्ने क्रममा पाराग्वेलाई २-० ले पराजित गरेको छ ।

नेयमारले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरेपछि ब्राजिलले सहज जित हात पारेको हो । छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो ।

खेलको चौथो मिनेटमै गाब्रिएल जेससको पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । इन्जुरी टाइमको तेस्रो मिनेटमा नेयमारकै पासमा लुकास पाक्वेटाले ब्राजिलका लागि दोस्रो गोल गरे ।

लगातार छैटौं जितपछि ब्राजिल १८ अंक जोड्दै शीर्ष स्थानमा आसीन छ  । जुन दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ६ अंक बढी हो । अर्जेन्टिनाले भने कोलम्बियासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो । ६ खेलबाट ७ अंक रहेको पाराग्वे हारपछि छैटौं स्थानमा झरेको छ  ।